
नेपाल पर्यटन बोर्ड का अनुसार सन् २०२६ को अप्रिल महिनामा नेपालमा १ लाख ७ हजार ९३४ विदेशी पर्यटक भित्रिएका छन्। क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी ३३ हजार ४३२ (३१%) पर्यटक आएका छन् भने अन्य एशियाली देशबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसिया बाट १ हजार ६९७, अफ्रिकाबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन्। देशगत रूपमा भारत बाट सबैभन्दा बढी १५ हजार १९६ पर्यटक आएका छन् भने चीन बाट ११ हजार ७२२ र बंगलादेश बाट ५ हजार २३१ पर्यटक भित्रिएका छन्। अघिल्लो वर्ष सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० तथा कोभिडअघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आएका थिए, जसको तुलनामा हालको आगमन केही कम देखिन्छ। पछिल्लो समय पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध र अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावित हुँदा पर्यटक आगमनमा असर परेको मानिएको छ, तर समग्रमा विभिन्न क्षेत्रबाट आगमन बढ्दै जाँदा नेपालको पर्यटन बजार बहुस्रोततर्फ विस्तार हुँदै गएको संकेत देखिएको छ।









