काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन्। महानगरपालिकाको शिक्षा विभागका अनुसार आवेदन दिनेहरूमध्ये १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा तथा ६ जना अन्य रहेका छन्। प्राप्त आवेदनहरूमध्ये हालसम्म २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ भने ३ हजार ३०२ जनाको विवरणमा त्रुटि भेटिएकाले महानगरपालिकाले सच्याउन आग्रह गरेको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउनुपर्ने विद्यार्थीलाई मोबाइल र इमेलमार्फत जानकारी गराइसकिएको छ। त्रुटि भएका आवेदकहरूले विवरण सच्याएर पुनः पेश गर्नुपर्नेछ र तोकिएको समयभित्र आवश्यक कागजात वा विवरण अपलोड नगरेमा आवेदन स्वतः रद्द हुनेछ। हालसम्म आवश्यक प्रक्रिया पूरा नगरेका, सबै ठाउँमा एउटै डकुमेन्ट राखेका तथा अनावश्यक कागजात संलग्न गरेका ८४ जनाको आवेदन अस्वीकृत भइसकेको छ। महानगरपालिकाले जेठ १३ गतेसम्म आवेदन फाराम स्वीकृत गर्ने प्रक्रिया जारी रहने जनाएको छ।
छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूमध्ये सबैभन्दा धेरै संख्या विज्ञान विषय अध्ययन गर्न चाहनेहरूको रहेको छ। विज्ञानमा १८ हजार ९९६ जना, व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना तथा मानविकीमा ७९ जना विद्यार्थी रहेका छन्। अनलाइन आवेदन प्रणाली प्रयोग गर्न कठिनाइ हुने विद्यार्थी तथा अभिभावकलाई सहजीकरण गर्न महानगरपालिकाको शिक्षा विभागमा सहायता कक्ष स्थापना गरिएको छ, जहाँबाट आवश्यक प्राविधिक सहयोग लिन सकिनेछ। आवेदन स्वीकृत भएका विद्यार्थीहरूले जेठ १४ गते बिहान १० बजेपछि आफूले फाराम भरेकै वेबसाइटबाट प्रवेशपत्र डाउनलोड गरी कलर प्रिन्ट गर्न सक्नेछन्। परीक्षा केन्द्र तथा परीक्षा सम्बन्धी अन्य विस्तृत विवरण प्रवेशपत्रमै उल्लेख हुनेछ। कक्षा १० सम्मको छात्रवृत्ति वडास्तरीय समितिको सिफारिसमा हुने गरे पनि कक्षा ११ र १२ को छात्रवृत्तिका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गर्नेछ। परीक्षापछि योग्यता क्रम र म्याचिङ सूचीका आधारमा विद्यार्थीको नाम सिफारिस गरिनेछ र छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्ने छैन।










