लक्ष्मी सनराइज क्यापिटल लिमिटेड र जेनेसिस भेन्चर्स लिमिटेडबीच २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशन (आइपिओ)का लागि निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) व्यवस्थापन गर्ने उद्देश्यले उक्त सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरेको हो ।
सम्झौताअनुसार लक्ष्मी सनराइज क्यापिटलले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ ।
सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा दुवै संस्थाले नेपालको पुँजी बजारलाई थप सुदृढ बनाउने तथा सर्वसाधारण लगानीकर्ताका लागि लगानीका अवसर विस्तार गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
जेनेसिस भेन्चर्स लिमिटेड निजी बजारमा लगानी केन्द्रित गर्ने कम्पनी हो, जसले सूचीकरण नभएका इक्विटी अवसरहरूमा लगानी गर्दै उच्च वृद्धि सम्भावना भएका तथा दीर्घकालीन मूल्य सिर्जना गर्न सक्ने व्यवसायहरू पहिचान गर्ने लक्ष्य राख्दै आएको छ ।
कम्पनीले विभिन्न क्षेत्रका सम्भावनायुक्त व्यवसायहरूमा रणनीतिक लगानी गर्दै आएको र प्रस्तावित आईपीओले आगामी दिनमा यसको व्यवसाय विस्तार तथा दीर्घकालीन वृद्धि योजनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।










