भारतले पेट्रोल पम्पहरूबाट हुने इन्धन बिक्री तथा वितरणलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले लागू गरेको यो व्यवस्थाअनुसार अब एक ग्राहकले एक दिनमा पेट्रोल पम्पबाट २०० लिटरभन्दा बढी हाई स्पीड डिजेल खरिद गर्न पाउने छैन।
पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालय ले जारी गरेको नयाँ नियमअनुसार औद्योगिक, व्यावसायिक तथा संस्थागत ठूला उपभोक्ताहरूले अब पेट्रोल पम्पबाट पेट्रोल र डिजेल खरिद गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यस्ता उपभोक्ताले आफ्नो इन्धन आवश्यकता अनिवार्य रूपमा बल्क सेल (थोक बिक्री केन्द्र) बाट मात्र लिनुपर्नेछ। यो व्यवस्था तत्काल लागू गरिएको छ र प्रारम्भिक रूपमा ९० दिनसम्म कायम रहनेछ।समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (PTI)का अनुसार, मन्त्रालयले तेल मार्केटिङ कम्पनीहरूलाई खुद्रा आउटलेटबाट हुने थोक खरिदमा पनि अस्थायी रोक लगाउन निर्देशन दिएको छ।यो कदम अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र मध्यपूर्वमा जारी संकटका कारण भारतको इन्धन आपूर्तिमा परेको दबाब व्यवस्थापन गर्न चालिएको हो। खुद्रा र थोक मूल्यबीच ठूलो अन्तरका कारण ठूला उपभोक्ताहरूले पम्पबाटै इन्धन खरिद बढाउँदा केही क्षेत्रमा डिजेलको असामान्य माग देखिएको थियो।
उदाहरणका लागि, दिल्लीमा खुद्रा डिजेलको मूल्य प्रतिलिटर करिब ९५.२० रुपैयाँ भए पनि थोक खरिदमा सोही मूल्य १३४.५० रुपैयाँसम्म पुगेको छ। यही मूल्य अन्तरका कारण बजार असन्तुलन बढेपछि सरकारले नियन्त्रणात्मक कदम चालेको बताइएको छ।










