कटारीमा चुनढुंगा ढुवानीका लागि टिपर सञ्चालनमा रोक लगाएपछि व्यवसायीहरू सडकमा उत्रिएका छन्। व्यवसायीहरूले मदन भण्डारी राजमार्गको कटारी खण्डमा टिपर तेर्स्याएर सडक अवरुद्ध गर्दै विरोध जनाएका हुन्।

चुनढुंगा खानीबाट उद्योगसम्म सामग्री ढुवानी गर्ने विषयलाई लिएर स्थानीय र टिपर व्यवसायीबीच लामो समयदेखि विवाद हुँदै आएको छ। स्थानीयको दबाबपछि ढुवानी प्रभावित बनेको भन्दै व्यवसायीहरूले लगानी डुब्ने र रोजगारीमा समेत असर पर्ने बताएका छन्। व्यवसायीहरूले टिपर सञ्चालनलाई निश्चित मापदण्ड बनाएर निरन्तरता दिनुपर्ने र चुनढुंगा ढुवानीमा रोक लगाउन नहुने माग गरेका छन्। यसअघि सिम्ले बजार क्षेत्रमा पनि व्यवसायीहरूले टायर बालेर सडक अवरुद्ध गर्दै विरोध गरेका थिए। स्थानीयवासी भने बस्तीको सडकमा भारी टिपर चलाउँदा सडक बिग्रनुका साथै वातावरण र जनजीवनमा असर परेको भन्दै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने पक्षमा छन्। उनीहरूले मरुवा–नैनखाडी–आहाले सडकबाट चुनढुंगा ढुवानी गर्न माग गरेका छन्।

दुवै पक्ष आ–आफ्नो मागमा अडिग रहँदा कटारीमा चुनढुंगा ढुवानीको विवाद थप चर्किएको छ। व्यवसायीको सडक अवरोधका कारण कटारी बजारतर्फको यातायातसमेत प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस !