दक्षिण कोरिया रोजगारीमा जान इच्छुक नेपालीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ । ईपीएस कोरिया शाखाका अनुसार यसपटक सेवा क्षेत्रबाट परीक्षा सञ्चालन सुरु गरिएको हो, जसमा १ हजार ३९ जनाले आवेदन दिएका छन् । यस वर्षदेखि परीक्षामा सेवा र वन गरी दुई नयाँ क्षेत्र थपिएसँगै अब उत्पादनमूलक, कृषि तथा पशुपालन, वन र सेवा गरी चार क्षेत्रबाट परीक्षा सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार मंसिर २ गतेदेखि वन, मंसिर ४ गतेदेखि कृषि तथा पशुपालन र मंसिर २५ गतेदेखि उत्पादनमूलक क्षेत्रको परीक्षा सुरु हुनेछ । आजदेखि सुरु भएको परीक्षा आगामी माघसम्म सञ्चालन हुने शाखाले जनाएको छ । यसपटक कोरियन भाषा परीक्षाका लागि कुल ७६ हजार १७३ जनाले आवेदन दिएका छन् । जसमध्ये उत्पादनमूलक क्षेत्रमा ५३ हजार १०३, कृषि तथा पशुपालन क्षेत्रमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रमा १ हजार ३९ जनाको आवेदन परेको छ ।

प्रतिक्रिया दिनुहोस !