ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प जान थालेपछि स्थानीय त्रसित बनेका छन्। २०७७ सालयता मात्रै यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार पटक भूकम्प गएको छ। मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएपछि स्थानीयमा थप त्रास फैलिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको धक्का ताप्लेजुङसहित आसपासका विभिन्न क्षेत्रमा महसुस गरिएको थियो।मैवाखोला गाउँपालिका–३ साँघुकी निर्मला लिम्बूले भूकम्पको धक्काले आफूहरू त्रसित भएको बताइन्। भूकम्प रोकिएलगत्तै आफन्तलाई फोन गरेर अवस्था बुझाएपछि मात्रै मन शान्त भएको उनको भनाइ छ।त्यस्तै, फक्ताङलुङ गाउँपालिका–६ लेलेपकी मनमाया लिम्बू भूकम्प जाँदा घरनजिकैको बाख्रा खोरमा बाख्रालाई दानापानी दिइरहेकी थिइन्। एक्कासि जमिन र घर हल्लिन थालेपछि २०७२ सालको विनाशकारी भूकम्प सम्झेर आत्तिँदै चिच्याएको उनले सुनाइन्। फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन लामाका अनुसार ओलाङचुङगोला क्षेत्रमा भूकम्पको निकै ठूलो धक्का महसुस भएको थियो। घरहरू हल्लिए पनि कुनै क्षति नभएको उनले बताए। जिल्लाकै उच्च स्थानमा रहेको याङमा गाउँमा समेत भूकम्पबाट क्षति नभएको उनको भनाइ छ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले जिल्लामा भएको क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए। प्रशासनले स्थानीय संयन्त्र तथा प्रहरीमार्फत क्षतिको विवरण संकलन गरिरहेको उनले बताए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांकअनुसार ओलाङचुङगोला केन्द्रविन्दु भएर यसअघि पनि पटक–पटक भूकम्प गएको छ। २०७७ माघ २७ गते बिहान ७ः३५ बजे ५.४ म्याग्निच्युड, २०७९ वैशाख १२ गते साँझ ७ः१७ बजे ३.५ म्याग्निच्युड र सोही वर्ष माघ ३० गते बिहान ४ः३० बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस !