सूर्योदय नगरपालिकाको बडा नम्बर–१३ को खानेभन्जाड टोल पुच्छरमा गेवाटारका ११ घर परिवारमा सौर्य बत्ती बलेपछि मुस्कान छाएको छ । विद्युतीकरण गर्न निकै अप्ठारो र टाडा भएको कारणले त्यस ठॉउमा हिजो बेलुकीसम्म धिप्री बाल्ने गरेका गेवाटारवासी सौर्यबत्ती बाल्न पाउदा खुसी भएका छन् ।
साना नानीहरू भएको घरमा धिप्रीमा रातमा तीनपटक सम्म मट्टीतेल लगाउनु पर्ने, रातभरी धिप्री बलेपछि नाकैभरी कालै मट्टीतेलको थेक्रा बस्ने समस्याको समाधान भएको छ ।
सूर्योदय नगरपालिकाले ११ घर परिवारलाई घरमै गएर सौर्य बत्ती स्थानीयको बिना लगानी जडान गरिदिएको छ। झण्डै खानेभन्जाडदेखि १ घण्टा हिडेर पुगिने त्यस ठॉउको स्थानीयहरू ढोको लिएर ब्याट्री र प्यानल लिन गाडी पुग्ने ठॉउसम्म आएका थिए।
दशैं नजीक आईरहेको समय पारेर यसरी बत्ती जडान भएपछि केहिको हर्षले गदगद भएका छन् । साथै नगरपालिकाले केहि घरपरिवारहरूलाई सुरक्षित आवास निर्माण गरिदिने सूर्योदय नगरपालिकाका मेयर रन बहादुर राईले बताउनुभयो ।