रौतहटको फतुवा विजयपुर नगरपालिकाले पालिकाभित्र रहेका स्थानीयले घरायसी र कृषि कार्यमा खर्च गर्ने बिजुलीको बिल तिरिदिने भएको छ  । नगरपरिषद्बाट पालिकाले यससम्बन्धी निर्णय पास गराएको छ  ।

यही कात्तिकदेखि आगामी असारसम्म उठ्ने बिजुलीको बिल तिर्न नगरसभाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाका मेयर गोपाल राय र उपमेयर कान्तिदेवीबीचको विवादका कारण लामो समयदेखि रोकिएको चौथो नगरपरिषद् असोज १० मा सम्पन्न भएको थियो ।

त्यही नगरपरिषद्ले यस्तो निर्णय गरेको हो । ‘ढिलै भए पनि नगरसभा सम्पन्न गर्न सक्यौं । स्थानीय र किसानलाई राहत हुने प्याकेज ल्याएका छौं,’ उनले भने, ‘यसले किसानलाई ठूलो राहत पुग्छ । उनीहरू कृषि उत्पादनमा हौसिन्छन् । स्थानीयले अब घरायसी प्रयोजनका लागि खपत गरेको बिजुलीको महसुल तिर्नु पर्दैन । नगरपालिकाले नै तिर्नेछ ।’

नगरपालिकामा ११ वडा छन् । झन्डै आठ हजार घरधुरी छन् । उद्योग र अन्य प्रयोजनका लागि लिएको थ्री–फेज लाइनको महसुल भने स्थानीयले बुझाउनुपर्छ ।

नगरक्षेत्रभित्र मिटर रिडिङ गर्ने समयमा नगरपालिकाले एक जना कर्मचारी पनि खटाउनेछ । त्यस बेला प्राधिकरणलाई कर्मचारी खटाएर सघाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले बताए ।

प्राधिकरणले कृषि मिटर र घरेलु, उद्योगका छुट्टाछुट्टै बिल निकालेर एकमुष्ट रकमबारे नगरपालिकालाई जानकारी गराउँछ । त्यहीअनुसार भुक्तानी हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !