अरु समयमा निकै चहलपहल हुने ताप्लेजुङको उच्च हिमाली गाउँ तोक्पेगोला आजकल सुनसान छ । हिउँदको जाडो छल्न चौँरी गोठसहित स्थानीयवासी तल्लो क्षेत्रमा सरेपछि तोक्पेगोला सुनसान बनेको हो । यहाँका स्थानीयवासी जाडोको मुख्य समय मङ्सिर, पुस र माघसम्म तल्लो क्षेत्रमा सरेर बस्ने गरेका छन् । अरु समयमा भने पुनः तोक्पेगोलामै गएर आफ्नो व्यवसायमा सक्रिय हुन्छन् । पर्यटकीय क्षेत्र तोक्पेगोला मिक्वाखोला गाउँपालिका–५ पापुङमा पर्छ । झण्डै चार हजार मिटरको उचाइमा पर्ने सो गाउँका स्थानीयवासीले व्यावसायिकरूपमा याक, चौँरी गोठ पाल्ने गरेका छन् भने जडीबुटी सङ्कलन तथा व्यापारसमेत गर्ने गरेका छन् ।

चिसोका कारण सबै परिवार तल्लो क्षेत्रमा झरेपछि कात्तिक दोस्रो सातादेखि नै बस्ती पूरै खाली रहेको पापुङ प्रहरीचौकीका इञ्चार्ज धनराज तुम्बापोले बताउनुभयो । उहाँका अनुसार उनीहरु तल्लो क्षेत्रमा पर्ने दुङ्गिम, लाम्छाङलगायतका ठाउँमा सरेर बसेका छन् । पशुपालक किसान आफ्नै काम धन्दामा व्यस्त रहे पनि केही भने यही मौकामा घुमघाम र आफन्त भेटघाटका लागि काठमाडौँ, भारतको सिक्किम, दार्जिलिङलगायतका ठाउँमा जाने गरेको स्थानीय मिलन शेर्पाले बताउनुभयो । कतिपय आफ्ना छोराछोरी भेट्न निस्कने गर्छन् । त्यस क्षेत्रमा विद्यालय नभएकाले धेरैजसोका बालबालिका सदरमुकाम र जिल्लाबाहिरका विद्यालयमा गएर पढ्ने गर्छन् । जिल्लाको मिक्वाखोला गाउँपालिकामा पर्ने तोक्पेगोला पर्यटकीय क्षेत्र पनि हो । सो गाउँमा ढुक्प्या जातिका २३ घरपरिवारको बसोबास छ । विशेषगरी भदौ असोजको समयमा भने आन्तरिक पर्यटक तोक्पेगोलामा पुग्ने गर्छन् । सोदुपोखरी, भूतपोखरीलगायतका दर्जनौँ पोखरीका साथै रमणीय ठाउँ भएकाले घुम्न र अवलोकनका लागि सो क्षेत्रमा आन्तरिक पर्यटक पुग्ने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !