सुदूरपश्चिम प्रदेश सरकारले नवीन उद्योग स्थापना गर्ने कार्यक्रम अघि बढाएको छ । गत वर्ष शून्य प्राय सहभागिता हुँदा कार्यक्रम अघि बढाउन नसकेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष सो कार्यक्रमलाई पुनःअघि बढाएको हो । मन्त्रालयले यो कार्यक्रम अघि बढाउनका लागि योग्यता पुगेका इच्छुक इजाजतपत्र प्राप्त लघु, घरेलु वा साना उद्योगका उद्यमीले कार्यविधिमा तोकिएबमोजिम आवश्यक विवरण भरी सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा प्रस्ताव पेश गर्नका लागि आह्वान गरेको छ । मन्त्रालयले प्रदेशका नौ वटा जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमा दुई÷दुई नवीन उद्योग सञ्चालन गर्ने योजनाअनुसार सो कार्यक्रम अघि बढाएको सूचना अधिकारी भरत श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवद्र्धन गर्न नवीन उद्योग कार्यक्रम आवश्यक भएकाले मन्त्रालयले यो कार्यक्रमलाई अघि बढाएको हो । मन्त्रालयले प्रदेशमा रहेका ३२ वटा निर्वाचन क्षेत्रमा प्रतिनिर्वाचन क्षेत्रमा रु १० लाखका दरले रकम विनियोजन गरेको जनाइएको छ ।

मन्त्रालयले बनाएको कार्यविधिमा प्रत्येक निर्वाचन क्षेत्रमा दुई वटा नवीन उद्योग स्थापना तथा सञ्चालनमा नगद सहयोग गरिने उल्लेख गरिएको छ । सो कार्यविधिअनुसार फलफूल प्रशोधन, जडीबुटी प्रशोधन, तरकारीको बीउबिजन उत्पादन तथा प्रशोधन, नर्सरी व्यवसाय, मसला उद्योग, ढाका कपडा, गलैँचा, होजियारी, उद्योगलगायतका लघु वा घरेलु उद्योगका १८ वटा शीर्षकका उद्योगलाई मात्र नगद रकम अनुदान दिइने उल्लेख छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा रोजगारी दर वृद्धि गर्न, गरिबी दर घटाउन तथा उद्योग क्षेत्र वृद्धि गर्न नवीन उद्यमी कार्यक्रम प्रभावकारी रहने दाबी गरेको छ । मन्त्रालयले यस कार्यक्रमलाई अघि बढाउन रु १० लाखका दरले ६४ उद्यमीका लागि रु तीन करोड २० लाख रकम बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । मन्त्रालयले जारी गरेको कार्यविधिमा उद्यमशीलताउन्मुख समाज निर्माण गर्ने, उद्यमी सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने लगायतको उद्देश्य उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !