मालिकार्जुन गाउँपालिकाले सरोकारवाला निकायका सहयोगमा कृषि र पशु क्षेत्रलाई प्रवद्र्धन गर्ने भएको छ । बेरोजगार युवालाई कृषि र पशुपालनमा आकर्षित गर्ने ध्येयले गाउँपालिकाले ती दुई क्षेत्रलाई थप विकास र विस्तार गर्न लागेको हो । कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न गाउँपालिकाले पहल समेत थालेको छ । कृषकलाई बीउबिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पु¥याउनेसम्मका योजना अघि सारिएको गाउँपालिका कृषि शाखाले जनाएको छ । मालिकार्जुनले यस वर्ष कृषि क्षेत्रका लागि मात्र सात लाख रुपैयाँ बजेट विनियोजन गरेको सो शाखा प्रमुख रमेशराज जोशीले जानकारी दिनुभयो । गत दुई वर्षमा कृषि पेशालाई यान्त्रीकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर युवाहरुलाई विभिन्न कृषि औजार वितरण गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ । कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आबद्ध गराउने खालका कार्यक्रम यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धाँमीले जानकारी दिनुभयो । कृषि गर्न चाहने युवालाई जीविकोपार्जन गर्ने खालका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष धाँमीका अनुसार नमूना फलफूल क्षेत्र विकास कार्यक्रमका लागि मालिकार्जुनको रु सात लाख, कृषि ज्ञानकेन्द्रको रु १० लाख तथा जनश्रमदान गरी रु २० लाखको लागत रहने गरी साझेदारी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । यस कार्यक्रममार्फत गाउँपालिकाको वडा नं २ को न्वालपानी, वडा नं ३ को मलबाब, वडा नं ४ को गोठ्युडी, वडा नं ५ को हरडा तथा वडा नं ८ को कोटिला (कोट) क्षेत्रमा ओखरको बोट खरीद गरी कृषकलाई वितरण गरिने जनाइएको छ । स्थानीय निकाय र ज्ञान केन्द्रबीच साझेदारीपत्रमा हस्ताक्षर भएको केन्द्रका प्रमुख प्रकाशकुमार पन्तले जानकारी दिनुभयो ।

यस वर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ । परम्परागत तथा निर्वाहमुखी कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न लागि परेको अध्यक्ष धाँमीले बताउनुभयो । गाउँपालिकाले यस वर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । आलुमा आत्मनिर्भर बनाइने व्यास गाउँपालिकालाई आलुखेतीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई आलु उत्पादनमा अनुदान दिन थालेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन थालेको हो । आलुखेतीको विस्तारका लागि गाउँपालिकालाई आलु पकेट क्षेत्र घोषणा गरी काम थालेको छ । गाउँपालिकाले आलुखेती हुने पकेट क्षेत्र वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो । गाउँपालिकाले किसानलाई आवश्यकपर्ने आलुको बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराउने तयारी थालेको हो । आलु उत्पादनका दृष्टिले व्यासको उर्वर भूमि पनि हो । “निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेर काम थालेका छौँ । ” व्यास कृषि शाखा प्रमुख विशेश्वरप्रसाद बडुले भन्नुभयो । गाउँपालिकाले ११ वटा आलु पकेट क्षेत्रका किसानलाई २५ क्विन्टल आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको छ । आलु पकेट क्षेत्रभित्रका इच्छुक किसानले समूहमार्फत वा व्यक्तिगतरूपमा पनि आलुखेती गर्नसक्ने जनाएको छ । इच्छुक व्यक्ति वा समूहले वडाको सिफारिससहित आएको खण्डमा ५० प्रतिशत अनुदानमा बीउ प्राप्त गर्न सक्नेछन् ।

केन्द्रका प्राविधिक सहयोगमा आलु उत्पादन कार्यक्रमअन्तर्गत १२ कृषक समूह कृषि फर्मबाट पकेट क्षेत्र निर्माण हुने बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा व्यास गाउँपालिकाको वडा नं ५ मा रहेको जनभावना साना किसान कृषि सहकारीद्वारा २०० रोपनी क्षेत्रफलमा रु २४ लाख बराबरको आलुखेती निर्माण गर्ने योजना रहेको जनाइएको छ । आलु उत्पादन भएपछि सक्नेजति बिक्रीवितरण गर्ने र नसकेको गाउँपालिकाले बिक्रीवितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको गाउँपालिकाले जनाएको छ । किसानलाई निःशुल्क ओखरका बिरुवा मार्मा गाउँपालिकामा ओखर उत्पादन बढाउने किसानलाई निःशुल्क ओखरका बिरुवा वितरण गरेको छ । ओखर उत्पादनको सम्भावना राम्रो रहेको किसानलाई स्थानीय जात र टर्की जातको ओखर निःशुल्क वितरण गरिएको हो । मार्माका ओखर उत्पादन हुने क्षेत्रलाई पकेट क्षेत्र बनाएर ओखर विस्तार गर्न लागिएको हो । गाउँपालिकाको सहयोगमा यस वर्ष एक हजार ३२० बोट टर्की जातको ओखरको बिरुवा किसानलाई वितरण गरिएको कृषि शाखा प्रमुख रवीन्द्र पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ६ को परिवन छिपान, वडा नं ४ को बार्कु, मठखोला, वडा नं १ को तौलीमाण्डौँ दह, वडा नं २ को ओडीखेत, रस्कोट, लाम्बगड, वडा नं ३ को बजानीका लागि वितरण गरिएको छ ।

गाउँपालिकाले किसानको खेत बाँझो नराख्ने नीतिअनुरुप पकेट क्षेत्रमा ओखर लगाउन निःशुल्क बिरुवा वितरण गरेको छ । उहाँले भन्नुभयो, “आयआर्जनको राम्रो माध्यम हुने, फलफूल खेतीको राम्रो सम्भावना बोकेकै भएर प्राथमिकता साथ बिरुवा वितरण गरेका छौँ ।” गत वर्षदेखि ओखरका बिरुवा वितरण तथा लगाउने कार्य निरन्तर चलेको छ । गाउँपालिकाले एक घर पाँच फलफूलका बिरुवा रोप्ने अभियान चलाएर फलफूलका बिरुवा वितरण गर्ने गरेको छ । गत वर्ष वडा नं ५ मा ३०० र वडा नं ६ को ४०० घरधुरीमा फलफूलका बिरुवा लगाइएको थियो । यस वर्ष मार्माका वडा नं १ को ५६० घरधुरीमा फलफूलका बिरुवा लगाउने कृषि शाखाले जनाएको छ । गाउँपालिकालाई विस्तारै फलफूल ओखरमा आत्मनिर्भरउन्मुख बनाउने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !