सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेको बाँकेको नरैनापुर क्षेत्रका सर्वसाधारणले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन् । गाउँमै रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेपछि अव नरैनापुरवासीलाई उपचारका लागि नेपालगञ्ज वा भारतीय शहरमा पुग्नुपर्ने बाध्यता हटेको छ । नरैनापुर गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न बनाएपछि सर्वसाधारणले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा सहज तरिकाले पाउन थालेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा प्याथालोजी, २४ सैँ घण्टा आपत्कालीन सेवा र भिडियो एक्स–रे सेवासमेत शुरु गरिएको छ । साधारण एक्स–रे पनि तत्कालै शुरु गर्ने योजना छ । गाउँपालिकाले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ श्ययाको अस्पतालसँगै इमर्जेन्सी सेवा सञ्चालनमा ल्याएपछि नरैनापुरवासीलाई उपचारका लागि सहज भएको वडा नं ६ का नागरिक अगुवा सोहनलाल यादवले बताउनुभयो । “पहिला सामान्य ज्वरो आएका बिरामीलाई पनि उपचार गर्न भारतीय स्वास्थ्यकर्मी र नेपालगञ्जका अस्पतालको भर पर्नुपथ्र्यो, अहिले यहाँका सर्वसाधारणलाई उपचारका लागि न त नेपालगञ्ज जानुपर्छ न त भारतीय अस्पताल धाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा २४ सैँ घण्टा चिकित्सक बस्न थालेपछि गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा जागेको छ ।” लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा इमर्जेन्सी सेवा शुरु भएपछि अब सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताउनुभयो ।

उहाँका अनुसार लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रले आगामी चैतदेखि सर्पदंशको उपचार पनि शुरु गर्ने भएको छ । सर्पले डसेका बिरामीलाई नेपालगञ्ज पु¥याउन समय लाग्ने र ढिला गरी उपचार पाउँदा मृत्यु हुने गरेपछि नरैनापुरमा सर्पदंशको उपचार शुरु गरिन लागेको हो । गाउँपालिकाले आँखा उपचार पनि छिट्टै शुरु गर्ने भएको छ । आँखा उपचारका लागि एक–एक जना नेत्र अधिकृत र नेत्र सहायक माग गरेको छ । माग गरेबमोजिम निवेदन दिएकाको छिट्टै छनोटपश्चात् सेवा शुरु गरिने बताउँदै प्रमुख प्रशासकीय अधिकृत शाहले भन्नुभयो, “यहाँका सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले सबै खालको प्रयास गरेको छ ।” प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख मेडिकल अधिकृत डा सागर पन्तले जनशक्ति अभावका बाबजुत पनि जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताउनुभयो । उहाँले भिडियो एक्स–रे गर्ने दक्ष जनशक्ति नभएकाले आफैँले गर्दै आएको जानकारी दिनुभयो । एक्स–रे सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई तालीम लिन पठाइएको बताउँदै उहाँले तालीम लिएर आउनासाथ स्वास्थ्य केन्द्रमै एक्स–रे सेवा पनि शुरु गरिने जानकारी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !