दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअघि नै पहाडी क्षेत्र पुगेका र केही सो क्षेत्रबाट फर्किएका सवारीसाधन अझै बीच बाटोमै थन्किएका छन् ।

यही कात्तिक २ र ३ गतेको वर्षाका कारण रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर र माझखर्क, लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लीछा र बासबोटेका ग्रामीण सडक वर्षाले भत्किएका छन् । ति सडक अझै पनि सञ्चालनमा आउन नसकेको बासबोटे बराहका यातायात व्यवसायी धनवीर मगरले बताउनुभयो । दसैँ अघि नै दैनिक उपभोग्य सामान ढुवानी गर्न सवारीसाधन गाउँ गाउँ पुगेका थिए । सडक नखुलेका कारण ति सवारीसाधन बाटोमै थन्किएको मगर बताउनुहुन्छ ।

उदयपुरगढी र ताप्ली गाउँपालिकाको भलायाडाँडा, तावाश्री, लेकगाउँ, ओख्ले, नुनथला, पिपलभञ्ज्याङसहितका क्षेत्रमा पनि वर्षाले भत्काएका ग्रामीण सडक नखुलेपछि सवारीसाधन बीच बाटोमै थन्किएका ओख्लेका बाबु ठकुरीले जानकारी दिनुभयो । ग्रामीण सडक नुखुलेपछि दसैँ मान्न गाउँ गएकाहरु बीच बाटोमा अलपत्र छन् । उनीहरु दुई÷तीन दिनसम्म हिँडेरै सदरमुकाम गाईघाट तथा कटारी बजार पुग्न बाध्य छन् । यातायात व्यवसायी मोहन श्रेष्ठ ग्रामीण सडक सञ्चालन हुन नसक्दा यातायात व्यवसायी र यात्रुले कष्ट भोग्नु परिरहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !