कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो । घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका–९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो । बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताउनुभयो ।

आजभोलि मन्दिरमा दैनिक पूजा भइरहेको छ । मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुईदेखि तीन सय भक्तजन आउने गरेको उहाँले बताउनुभयो । यो मन्दिरमा भेडाको बलि दिइने र परेवा उडाइने गरिन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला हुने अध्यक्ष बुढाले जानकारी दिनुभयो । बाह्रकुने जल तथा यातायात प्रालिले आधुनिक दुईवटा डुङ्गा सञ्चालनमा ल्याएको छ । एउटा डुङ्गामा चारजना बसेर सयर गर्न मिल्ने प्रालिका सचिव लीलाजीत नेपालीले जानकारी दिनुुभयो । मन्दिर व्यवस्थापन समितिसँग पाँच वर्षे सम्झौता गरी तालमा आधुुनिक खालको फाइबरको डुङ्गा सञ्चालनमा ल्याएपछि पर्यटकलाई सजिलो भएको छ । प्रालिका अध्यक्ष जगत दर्लामीले ताल घुम्न आउने पर्यटकलाई सेवा दिन आधुनिक डुङ्गा ल्याइएको बताउनुभयो ।

लमहीको रिहारमा रहेको तप्तकुण्डमा स्नान गर्न, खिचडी खान र मन्दिरमा पूजाआजा गर्न दाङलगायत भारतबाट पनि भक्तजन आउने गर्दथे । यस ठाउँमा पुसको २५ गतेदेखि चहलपहल सुरु भई माघको ३ गतेसम्म मेला लाग्ने गर्दथ्यो । यसपालि कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका बिरामीको सङ्ख्या बढ्दै गएपछि लमही नगरपालिकाले कुनै किसिमका मेला तथा महोत्सव नगर्नका लागि सूचना जारी गरेका कारण रिहारमा लाग्ने मेला स्थगित भएको हो । थारू समुदायको माघीसँगै लाग्ने यो मेलामा विशेषगरी मामा भान्जी मन्दिर, तप्त कुण्ड (तातोपानी पोखरी), घिउ पोखिएको स्थानलाई पवित्र स्थान मानी पूजा गर्ने चलन भएको पुजारी हिरालाल बाबाले जानकारी दिनुभयो । रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । लमही बजारबाट पच्चीस किलोमिटरको दूरीमा पर्ने रिहार मेलामा साना र ठूला गरी एक दर्जन मन्दिर छन् । दाङका धार्मिकस्थलहरुमा अघिल्ला वर्षहरुमा माघीमा मेला एक महिनाअघि देखि नै लाग्दै आएकामा यस वर्ष नलाग्ने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम जिल्लामा दिन प्रतिदिन बढ्दै गएको छ । नागरिकको स्वास्थ्यलाई ख्याल गरी जिल्लामा पनि सजकता अपनाउन जरुरी रहेको भन्दै उहाँले मेला महोत्सवका कार्यक्रम नहुने बताउनुभयो । भीडभाड हुने कार्यक्रम गर्ने समय छैन, त्यसैले सामाजिक दूरी कायम नहुने भएकाले माघीको मेला नलाग्ने जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहहरुले पनि कुनै पनि भेला, महोत्सव र मेला नगर्न र कोरोनाविरुद्धमा सतर्कता अपनाउन सूचना प्रकाशन गरेर आग्रह गरेका छन् । जिल्ला थारू कल्याणकारिणी सभाले पनि माघी महोत्सव स्थगन गरेको छ । महोत्सव मूल आयोजक समिति संयोजक भुवन चौधरीले कोरोनाको जोखिम बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जानकारी दिनुभयो । माघी पर्वलाई सबैले सुरक्षित तरिकाले आफ्नो पारिवारिक भेटघाट गरेर मनाउन आग्रह गर्नुभएको छ । यही पुस २७ र २८ गते घोराहीमा माघी महोत्सव सञ्चालन गर्ने योजना बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस !