
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।
कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ ।
साथै न्युनतम ७ बर्ष देखि अधिकतम २५ बर्ष सम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधा समेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।
कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकर्णले बताए ।