
नेकापा एमाले कास्कीले पोखरा महानगरपालिकाको मेयर र उपमेयरका लागि मतदानबाट उम्मेदवार टुङगो लगाउने भएको छ । महानगरपालिकाको मेयर १२ र उपमेयरमा ११ जनाले आकांक्षा गरेपछि पार्टीले मतदानबाट उम्मेदवार टुंगो लगाउने भएको हो ।
मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक समेत गरेको छ ।
नगर कमिटीले मंगलबार बोलाएको बैठकमा ३ हजार रुपैयाँ शुल्क तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गर्नुभएको नेकपा एमाले कास्कीले जनाएको छ ।
मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीका साथै प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् ।
त्यस्तै, उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयर पदमा आकांक्षा राख्दै निवेदन दिएका छन् ।
कास्कीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच प्रतिष्ठाको लडाइँ छ । गुरुङ र अधिकारी पक्षले जिल्ला अधिवेशनमा छुट्टा छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गर्नुभएको थियो । जिल्ला अध्यक्षमा पृथ्वीसुब्बा पक्षका मनबहादुर गुरुङ विजयी हुनुभएको थियो ।
देशका ६ वटा महानगरपालिकामध्ये पोखरामा एमालेको अवस्था राम्रो मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्दा पनि एमालेले विजय भएको थियो ।