३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अभियानका क्रममा ध्वजा पताका, ब्यानरहरुको कमी देखिएता पनि आचारसंहिता विपरीत धेरै गाडीहरु, कतैकतै विदेशी नम्बर प्लेटका गाडीहरु, अबेर रातिसम्म आम नागरिकलाई बाधा पुग्ने गरी माइकिङ, सांगितिक कार्यक्रमहरुको बढोत्तरी भएको पाइएको आयोगले जनाएको छ । विगतको तुलनामा तडकभडक र आचारसंहिता उल्लंघनमा कमी देखिएता पनि उम्मेदवारहरुले प्रचार प्रसारमा नयाँ नयाँ विधि प्रक्रियाहरु अपनाएका कारण निर्वाचन अभियानमा हुने खर्च विगतको तुलनामा धेरै नै बढ्ने अनुमान आयोगले गरेको छ।

यस पटकको निर्वाचनमा आचार संहिता उल्लघंनका घटनाहरु शहरी क्षेत्रमा भन्दा ग्रामीणक्षेत्रमा बढी भएका सूचनाहरु प्राप्त भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय चुनावका नाममा सर्वसाधारणलाई दुख दिने प्रवृत्तिलाई ध्यानमा राखेर आयोगले सुरक्षा व्यवस्थामा अझै कडाई गर्नु पर्ने बताएको छ ।

आचार संहिता उल्लंघन सम्बन्धिका उजुरीउपर निर्वाचन आयोगले ध्यानाकर्षण गराउने र स्पष्टीकरणसम्म सोध्ने काम भएपनि आचारसंहिता उल्लंघनमा सुधार नआएको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !