विगत ४५ वर्षदेखि स्थगित यो जात्रा विगत चारवर्ष देखि पुनः थालनी गरिएको हो। भैरव जात्राका क्रममा प्रत्येक दिन टोलबासीलाई भोज खुवाइ यो नाच देखाउने चलन छ ।आइतबार राति ८ बजे भोज खुवाइ सुरू भएको भैरव नाँच मंगलबार रातभर देखाइएको थियो। यो नाँच हेर्न लायकूदेखि बालकुमारी मन्दिरसम्म स्थानीयको भीड लागेको थियो।
लायकूबाट निकालिने नाँच त्यहाँस्थित गणेश, भैरव, बालकुमारी मन्दिरको परिक्रमा गरी सोही स्थानमा नचाइन्छ भने स्थानीय इनाय टोल, धीगू टोल लगायत विभिन्न १२ टोलको परिक्रमा गरिने छ भने सोमबार बिहान पुन: लायकूमै पुर्याइ सम्पन्न गरिएको छ।
मल्लकालिन वंशावलीमा ‘मदये काम गा गू’ अर्थात नभइ नहुने उलेलेख गरिएको नाचमा दुई भैरव, दुई दागी अर्थात देवी र ज्यापूको एक गरी पाँचजना व्यक्तिले देवताको मुकुण्डो धारण गरी नाँच प्रदर्शन गरिन्छ।
स्थानीय युवाहरुको सक्रियतामा लायकू दरवारबाट ४५ वर्षपछि यो नाँच निकालिएको स्थानीय युवाहरुले बताएका छन्। उनीहरुका अनुसार यसअघि ८५ वर्षीय गोपाल प्रजापतिको अगुवाइमा यो नाँच निकालिन्थ्यो। तर विचमै रोकिएको थियो यो भैरव नाँच। पहिला पहिला प्रजापतिहरुले यो नाचलाइ निकाल्ने गर्दथे।
भैरव नाँचमा तान्त्रिक विद्या अनुसार भैरव, कुमारी र ज्यापू गोको मुकुण्डो लगाइ नाँच्नेहरुको शरीरमा दवीदेवता प्रवेश गर्छन् भन्ने विश्वास छ। यसका साथै यो नाँच देखाएमा भूत, प्रेत र अनिष्ट हटेर जान्छ भन्ने जनविश्वास छ। परापूर्वकालमा ठिमीमा भूत, प्रेतले निक्कै दु:ख दिएपछि भैरव नाँच चनाउन थालिएको किंवदन्ती छ।