
चीनको सांघाई सहरको बुन्ड नामले चिनिने स्काईलाइनमा दुई रातसम्म विद्युत आपूर्ति बन्द गरिने भएको छ। बिजुली बचत गर्न यो निर्णय गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्।
स्काईलाइन ऐतिहासिक र फ्युचरिस्टिक भवनहरुका लागि प्रसिद्ध। यो वाटरफ्रन्ट क्षेत्र पर्यटकको ताँती लाग्ने गर्छ। चीनका अन्य थुप्रै ठूला सहरहरुमा विद्युत आपूर्ति ठप्प भएको छ। ती सहरका लाखौँ मानिसले विद्युत कटौतीपछि थुप्रै समस्याको सामना गरिरहेका छन्।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। अहिले चीनको थुप्रै इलाकामा खडेरी परेको छ। धेरै इलाकामा ताममान रेकर्डस्तरमा पुगेको छ।
आइतबारको सूचनामा सांघाई ल्यान्डस्केपिङ र सिटी अपियरेन्स एडमिनिस्ट्रेटिभ ब्यूरोले बुन्डमा सहरको सबैभन्दा ठूलो नदीको छेउमा बनाइएका भवनहरुमा सोमबार र मंगलबार बत्ती नबल्ने जानकारी गराइएको छ। सूचनामा भनिएको छ, ‘यसबाट तपाइँहरुलाई कुनै असुविधा भएमा हामी क्षमाप्रार्थी छौँ।’
गत हप्ता चीनमा खडेरीको पहिलो राष्ट्रिय चेतावनी जारी गरिएको थियो। वास्तवमा सांघाई, याङ्त्जे डेल्टा क्षेत्र र दक्षिणपश्चिम चीनको सिचुआन क्षेत्रमा विगत केही हप्तादेखि अत्यधिक गर्मी भइरहेको छ। त्यहाँ अलर्ट जारी गरिएको छ। यो तापमान आधिकारिक स्तरमा तेस्रो सबैभन्दा खतरनाक स्तर हो।
–एजेन्सी