यती एयरलायन्सको विमान दुर्घटना हुँदा भेटिएकाको शवको पोस्टमाटम गर्न सुरु गरिएको छ । विमानमा सवार ७२ मध्ये सोमबार साँझसम्म ६९ जनाको शव भेटिएको छ भने पहिचान भएका शवको सोमबारदेखि नै पोखरामा पोस्टमार्टम गर्न सुरु भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।
विमान दुर्घटनाको विषयमा केन्द्रको टोलीसहित धेरै डकुमेन्ट तयार गरी मुचुल्का गर्नुपर्ने हुँदा सोमबार दिउँसो करिब ४ः०० बजेदेखि पोस्टमार्टम गर्न सुरु भएको उनले बताए । हालसम्म पहिचान भएका ६९ वटा शवमध्ये पोखरामै करिब २४ जनाको पोस्टमार्टम हुने तयारी गरिएको प्रजिअ केसीले बताए । विमान दुर्घटनामा परी शवको पहिचान खुलेका पत्रकार त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धी पौडेलको पोखरामै पोस्टमार्टम हुने भएको छ ।
त्यसैगरी जीवनकला गुरुङ र पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, गायिका निरा छन्त्याल, विजयकुमार गुरुङ, रक्की गुरुङ, शालिकराम आचार्य, डा.गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको पोखरामै पोस्टमार्टम हुने भएको अस्पताल स्रोतले जनाएको छ ।
बाँकी पहिचान नखुलेका ४५ जनाको भने काठमाडौं लगिने भएको छ । सोमबार एक जनाको शव भेटिएको छ भने बाँकी तीनजनाको खोजीकार्य जारी रहेको प्रशासनले जनाएको छ । काठमाडौंको टिचिङ हस्पिटलका डा. गोपालकुमार चौधरीको नेतृत्वमा पोस्टमार्टम गर्न सुरु गरिएको हो । भेटिएकाको शव उनका आफन्तहसँगको सोधपुछ र केही प्रमाण परिचयपत्रलगायतको विषयमा पहिचान गरिएको प्रजिअ केसीले बताए ।