अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका अदुवाको बिऊ किन्दा भ्रष्टाचार गरेको भन्दै नगर प्रमुख भुपराज अधिकारीसहित नगरपालिकाका तत्कालीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अदुवाको बिऊ खरिदमा भ्रष्टाचार गरेको आरोपसहित मेयर अधिकारी,प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी,तत्कालीन लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बिऊ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि मुद्दा दायर गरिएको हो ।
तोकिएको नमूनाबमोजिम उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बिऊ ९गानो० खरिद गरेर भुक्तानीसमेत गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । नगरपालिकाले काठमाडौँको तीनकुनेस्थित स्पुक ट्रेडर्स प्रालिबाट अदुवाको बिऊ खरिद गरेको थियो ।
२ करोड १४ लाख ५० हजार बजेटमध्ये ३ लाख ७९ हजार ५०१ रुपैयाँ अग्रिम करकट्टी गरेर बाँकी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ उक्त कम्पनीलाई भुक्तानी गरिएको पाइएको छ । तर,स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख भुपराजले अस्वाभाविक रुपमा दररेट थप गरेर नोक्सान पारेको आयोगको अनुसन्धानबाट खुलेको छ । बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै मेयर अधिकारी, प्रशासकीय अधिकृत पाण्डे,बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई विपक्षी बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !