मंगलबार भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२२ मा नेपालले १०० मा ३४ अंकमात्रै पाएर भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको जनाएको हो। सन् २०२१ को रिपोर्टअनुसार नेपालले अंक ३३ पाएर ११७ औँ स्थानमा रहेको थियो। यो पटक केही सुधार भएको हो।
दक्षिण एसियाली राष्ट्रहरुमध्ये भुटानले ६८ अंक (२५ औँ), मालदिभ्सले ४० अंक (८५ औँ), भारतले ४० अंक (८५ औँ), श्रीलंकाले ३६ अंक (१०१ औँ), पाकिस्तानले २७ अंक (१४० औँ), बंगलादेशले २५ अंक (१४७ औँ) र अफगानिस्तानले २४ अंक (१५० औँ) प्राप्त गरेका छन्। चीनले ४५ अंकका साथ ६५ औँ स्थानमा रहेको छ।
यो सूचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको छ। यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मूलुकमा भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको ट्रान्सपरेन्सी इन्टरनेसनले जनाएको छ।