
अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाबीच आपसी टकराव बढ्दा हुम्लाको अदानचुली गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी रुपमा सरकारी लेटरप्याड र छापको दुरुप्रयोग गर्ने गरेका छन् ।
अध्यक्षरउपाध्यक्षबीच विवाद बढ्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रशासकीय अधिकृतले काम गर्न पाएका छैनन् । अध्यक्ष सिंहको समन्वयमा सरुवा भई आएका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही तथा उपाध्यक्ष रोकायाको समन्वयमा सरुवा भई आएका नन्दराज गिरीले काम गर्न पाएका छैनन्
पछिल्लोपटक काजसरुवा भएका गिरीलाई अध्यक्ष सिंहले मन्त्रालयमै फिर्ता पठाउने पत्राचार गरेपछि उनी हाजिर हुनै आएनन् ।
साउनमा प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि मन्त्रालयले मेघनाथ शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा अदानचुलीमा खटाएको थियो । उनी साउन ३० गते गाउँपालिकामा हाजिर भएका थिए ।
‘अध्यक्षको एकल निर्देशनमा चलेको’ आरोप लगाउँदै उपाध्यक्ष रोकायाले कार्यपालिकाको बैठकबाट स्वास्थ्य शाखा संयोजक हंशराज महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति दिएका थिए । जुन स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत निर्णय हो । अध्यक्षको पद रिक्त भएमा वा अध्यक्षले लेखेर कार्यबाहक तोकेको खण्डमा मात्र उपाध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक बस्न सक्छ । ऐनमा अध्यक्ष ७ दिनभन्दा बढी गाउँपालिकाबाहिर गई अनुपस्थित भएमा उपाध्यक्षलाई पत्र लेखेर कार्यबाहक दिन सक्ने उल्लेख छ तर अदानचुलीमा उपाध्यक्ष रोकायाले अध्यक्ष बहाल रहेकै बखत, अध्यक्षले कार्यबाहक नदिएकै अवस्थामा बैठक बोलाउने र प्रशासकीय अधिकृत नियुक्ति गर्दै आएका छन् ।