अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख धनीराम शर्माको संयोजकत्वमा सरकारले चालू आर्थिक वर्ष (आव) २०७९/०८० का लागि विनियोजित बजेटको अर्धवार्षिक समीक्षा आगामी आइतवार सार्वजनिक गर्ने भएको छ ।  सरकारले चालू आवका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

पछिल्लो ६ महिना (साउन–पुस)सम्मको राजस्व आम्दानी, पूँजीगत खर्च, चालू खर्च, वैदेशिक अनुदानसहितको आधारमा विश्लेषण गरेर बजेट समीक्षा भइरहेको छ ।

नियमित कामअन्तर्गत नै ६ महिनाको आम्दानी, खर्च, वैदेशिक सहायतासहितका आधारमा बाँकी ६ महिनाका लागि आयव्ययको अनुमान गर्ने गरिएको छ ।

यही समीक्षाबाट बाँकी समयमा हुने खर्चका आधारमा बजेटको आकारसमेत घट्ने भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार अर्थ मन्त्रालयले बर्सेनि गर्ने बजेट समीक्षा नियमित कार्यक्रम हो ।

त्यसैले पनि सरकारको आम्दानी घटेका कारण यो आवको बजेट समीक्षामा बजेटको आकार घट्नु स्वाभाविक हो । पछिल्लो ६ महिनामा लक्ष्यभन्दा १ खर्ब ७० अर्ब रुपैयाँले सरकारको आम्दानी घटेको छ ।

अर्थ मन्त्रालयले खर्च कटौतीको योजना सार्वजनिक गरिसकेकाले पछिल्लो अवस्थाको सबै पक्षलाई विश्लेषण गरेर अर्धवार्षिक समीक्षा आउने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार राजस्व कम उठेको, दायित्व बढेको, वैदेशिक सहायतासमेत अपेक्षाभन्दा कम आएकाले स्रोतमा चाप बढेको छ । यही चापका कारण अर्थतन्त्रमा परेको दबाबले यो आवमा विगतका वर्षभन्दा निर्मम भएर बजेट समीक्षा आउन सक्ने अर्थ मन्त्रालयकै एक अधिकारीले बताए ।

सरकारले चालू आवका लागि १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तो लक्ष्यको तुलनामा पुससम्ममा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ मात्रै संकलन भएको छ । यो लक्ष्यको जम्मा ७५.२ प्रतिशत मात्रै हो । पुससम्ममा सरकारको राजस्व संकलनको लक्ष्य ६ खर्ब ५१ अर्ब ६१ करोड रुपैयाँ थियो ।

चालू आवको ६ महिनामा सरकारको राजस्व संकलन मात्रै लक्ष्य भन्दा १ खर्ब ६१ अर्ब ५७ करोड रुपैयाँले कम भएको महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पुससम्ममा वार्षिक लक्ष्यको जम्मा ३४.९२ प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

गत आव २०७८/७९ को पुससम्ममा ५ खर्ब ९० अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्ष ६ महिनामा नै ४७.५७ प्रतिशत राजस्व संकलन भएको थियो ।

चालू आवको पहिलो ६ महिनामा वैदेशिक सहायता पनि लक्ष्यको तुलनामा जम्मा १३ प्रतिशत मात्रै संकलन भएको छ । पुससम्ममा वैदेशिक अनुदान जम्मा ७ अर्ब ६८ करोड रुपैयाँ मात्रै आएको छ । यो अवधिमा ऋण भने ३७ अर्ब ७ करोड भित्रिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । यो अवधिसम्ममा जम्मा वैदेशिक सहायता ४८.१३ प्रतिशत आएको अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस !