अभिनेता पल शाह जेलमुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार उनी तनहुँ कारागारबाट आज रिहा भएका हुन् । उनी आज जेलमुक्त हुनेभएपछि विहानैदेखि कारागार बाहिर उनका समर्थकको भिड लागेको थियो । अधिनेता शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले खादा र माला लगाएर स्वागत गरेका थिए ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

अहिले स्वागतका लागि उनका समर्थकको दमौलीमा भिड लागेको छ । हिजो फैसला आउँदा कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएकोले आज जिल्ला कारागार तनहुँबाट उनी रिहा भएका हुन ।

१७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी दिएपछि १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । शाहलाई पीडितले बयान फेरेपछि दुवै जिल्ला अदालतले सफाइ दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस !