बिहीबार  भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजलाई अनिश्चितकालका लागि ग्राउन्डेड गरिदिएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार बिहीबार साँझ क्यानले निर्णय गरेर कम्पनीलाई पत्राचार गर्दै प्राधिकरणको प्राविधिक टोलीले सबै जहाजको प्राविधिक परीक्षण नगर्दासम्मका लागि जहाज ग्राउन्डेड गराएको हो । उनकाअनुसार शुक्रवार बिहानै प्राधिकरणको प्राविधिक टोली श्री एयरलाइन्सका जहाजहरूको प्राविधिक परीक्षणका लागि पुगेका छन् ।

यसअघि श्री एयरलाइन्सका जहाजहरू कम्पनीकै प्राविधिक टोलीले परीक्षण तथा निरीक्षण गरिरहेको थियो । तर, बिहीबार भएको घट्नापछि प्राधिकरणले नै सबै जहाजको निरीक्षण गर्न लागेको निरौलाले बताए । निरौलाले भने, ‘पहिले के थियो भने सबै निरीक्षण एयरलाइन्सकै प्राविधिक टोलीहरूले गर्थे । हिजो पनि त्यस्तै समस्या आयो । त्यही भएर उड्नु भन्दा अगाडि हाम्रो प्राविधिक टोलीले निरीक्षण गर्ने भनिएको हो ।’

यो घटना छानबिन गर्न पाइलट राजेन्द्रमान शाक्यको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणले समिति बनाइसकेको छ । समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउन भनिएको छ । प्राधिकरण मातहत रहेको सेफ्टी स्ट्यान्डर्ड विभागका एक इन्जिनियरले विमानको इन्जिन नै फेर्नुपर्ने बताए । ‘आगोको संकेत देखिएपछि पाइलटले ककपिटबाट आगो नियन्त्रण गर्ने फायर एस्टिङ्गुइसर चलाएका थिए,’ उनले भने, ‘फायर एस्टिङ्गुइसर चलाएपछि त्यही इन्जिनमा विमान उडान मिल्दैन, बदल्नैपर्छ ।’

यसैबीच, नेपालगन्जबाट अघिल्लो बिहीबार बाजुराका लागि उडेको तारा एयरको ९ नोभेम्बर–अल्फा किलो लिमा ट्वीनअटर अवतरणका क्रममा ढोका खुलेको घटनामा संलग्न चालक दलका सदस्यलाई पनि प्राधिकरणले छानबिनका लागि ग्राउन्डेड गरेको छ । विमान जाँचका क्रममा ढोकामा समस्या नदेखिएपछि विमानलाई भने नियमित उडानमा राखिएको छ । घटनाको दोस्रो दिन शुक्रबार प्राधिकरणको सेफ्टी स्ट्यान्डर्ड विभाग र तारा एयरका इन्जिनियरहरू कोल्टी पुगेका थिए । उनीहरूले जाँचपडताल गरेपछि मात्रै विमानलाई उडान अनुमति दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !