
आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको छ ।
अब करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम पनि जारी रहेको उनले बताए ।
सरकारले यस वर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पु¥याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० कक्षासम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको पुस्तक छाप्न दिएको छ । निजीले कक्षा १ देखि ५ सम्मका एक करोड २० लाख थान पुस्तक छाप्नुपर्ने छ ।
पुस्तक छपाइ जारी रहेकाले समयमा नै पुग्ने पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगानाले बताए । उनले भने, ‘पछिल्लो अपडेट लिएको छैन तर प्रकाशन गृहहरुले सक्छन् । समयमा पुस्तक पुर्याउन सकिन्छ ।’ स्थानीय वितरकले लापरबाही नगरे विद्यार्थीको हात–हातमा समयमै पुस्तक पुग्ने दाबी उनले गरे ।
आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार पुस्तक प्रकाशन पनि अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।