बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको संस्था युवालयले कर्णाली प्रदेशको सुर्खेतमा आइतबारदेखि नीति संवाद तथा युवा महोत्सव सुरु गरेका छन् ा कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका युवाहरुको सहभागिता रहेको छ । कार्यक्रमको औपचारिक उद्घाटन पश्चात प्रदेश योजना आयोग, कर्णाली प्रदेशका उपाध्यक्ष योगेन्द्र बहादुर शाहीले राष्ट्रिय युवा निती २०२५ का बारेमा अभिमुखीकरण दिँदै सहभागिबाट सुझाव संकलन गरेका थिए । त्यस्तै, स्थानीय तहको योजना निर्माण, कर्णाली प्रदेशलाई बाल विवाह मुक्त बनाउन युवाको भूमिका, कर्णाली क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरण तथा दलित अधिकार अभियानका बारेमा पनि विभिन्न सत्र सञ्चालन भएको छ । गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति जस्ता विषयमा पनि सहभागी युवालाई विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिएको छ ।
कार्यक्रमको अन्तिम दिन सोमबार सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर लगायतका विषयमा छलफल हुने युवालयका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिए । कर्णालीलाई युवामैत्री प्रदेश निर्माण गर्नका लागि प्रदेश सरकारको सहयोगमा युवालाई नै परिचालन गर्ने उद्देश्य अनुरूप कार्यक्रम गरिएको महर्जनले बताए ।
सोमबार आयोजना हुने समापन कार्यक्रममा २ दिने छलफलबाट आएका मुख्य मुद्दाहरूलाई समेटेर घोषणा पत्र तयारी तथा सार्वजनिक गर्ने र सो घोषणा पत्रलाई सम्बन्धित मन्त्रालय तथा प्रदेश योजना आयोगमा हस्तान्तरण गरिने आयोजक संस्थाले जनाएको छ ।
युवालयले राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा तथा युरोपियन युनियन, अक्सफाम इन नेपाल, हेल्भेटास नेपाल, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशन नेपाल लगायतका विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा महोत्सव आयोजना गरेको हो ।