गौतम बुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण रोकिएको छ। अर्थमन्त्रालयले दोस्रो टर्मिनल भवनका लागि एसियाली विकास बैंकबाट थप ऋण लिने प्रक्रिया रोकेको थियो।तात्कालिन अर्थसचिव मधु मरासिनीले गौतम बुद्धमा अहिले अन्तर्राष्ट्रिय उडान हुन नसकेको र दोस्रो टर्मिनल बनाउन आवश्यक नरहेको एडीबीलाई जवाफ दिएका थिए। दोस्रो टर्मिनलका लागि आवश्यक रकम नपाएपछि प्राधिकरणले तत्कालका लागि यो परियोजना रोकेको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले तत्कालका लागि गौतम बुद्धमा दोस्रो टर्मिनल निर्माण रोकेको जानकारी दिए।

‘हामीले आफ्नो योजना अनुसार यो विमानस्थलको नयाँ टर्मिनल भवन विस्तार गर्ने योजना अगाडि बढाएका थियौँ। यसको नाप नक्सा पनि तयार भइसकेको छ। तर हालको संरचना नै पर्याप्त रुपमा संचालनमा आएको छैन,’ प्रवक्ता निरौलाले भने,’हामीले पाँच वर्ष पछिको ट्राफिकलाई मध्यनजर गर्दै नयाँ टर्मिनल भवन तयार गर्ने योजना बनाएका थियौँ। तत्कालका लागि हामीले रोकेका छौं।’उनका अनुसार अहिले भएको टर्मिनल भवनमा प्रति घण्टा ६५० यात्रु सेवा क्षमता रहेको छ। प्राधिकरणले नयाँ टर्मिनल भवनको संरचना मोडुलर ‘माग अनुसार सहजै विस्तार गर्दै लैजान सकिने’ अवधारणामा तयार गर्न लागेको उनले जानकारी दिए। कुल सात सय विघा क्षेत्रफल रहेको यो विमानस्थलको पश्चिमतर्फ प्राधिकरणले नयाँ टर्मिनल भवन विस्तार गर्न लागेको थियो।

भारतसँगको एयर रुट विवाद, सिंगल रनवे लगायतका कारण गौतम बुद्धमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। जजिरा एयरले आफ्नो खुशीमा यहाँ उडान भर्दै आएको छ।गौतमबुद्धले काठमाडौंको सर्टेन ट्राफिक मात्र लिन सक्ने भएकाले दोस्रो टर्मिनल बनाएर ऋणको भार बोक्न नहुने विज्ञहरुको जिकिर थियो।

श्रम कार्यालय, म्यानपावर कार्यालय र मेडिकल सुविधा नभएका कारण अन्तर्राष्ट्रिय यात्रुको माग उल्लेख्य रुपमा नआएको प्रवक्ता निरौला स्वीकार्छन्।

एक वर्षको अन्तरालमा यो विमानस्थलमा अन्तर्राष्ट्रिय तर्फ ३५९ वटा उडान अवतरण भएको छ। जसमार्फत ३४ हजार आठ सय ७७ जना यात्रुले उडान सेवा लिएका छन्।

प्रतिक्रिया दिनुहोस !