प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ ।

त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन् । बनेका संरचना पनि अलपत्र छन् । त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित उद्यान बनेको छ । तर त्यो पनि अलपत्र छ । नाम हरित उद्यान भए पनि त्यही कहीँकतै हरियो देख्न पाइँदैन ।

निर्माण भएको उद्यानमा गरिएको तारबार पनि फालिएको छ । उद्यानमा कहिलेकाहीँ गाईभैँसी चरनक्षेत्र पनि बन्ने गर्छ । त्यहाँ रोपिएको दुबो मरिसकेको छ । त्यही उद्यानमा दङ्गीशरण राजाको सालिक राखिएको छ । २५ लाख लगातमा त्यहाँ उद्यान र दङ्गीशरण राजाको प्रतिमा निर्माण भएको थियो ।

त्यहाँ अहिले पर्यटकको सङ्ख्या पनि शून्य नै छ । ऐतिहासिक ठाउँ भएकाले त्यहाँ दैनिक भरिभराउ हुनुपर्ने हो, तर त्यस्तो हुन नसकेको स्थानीय नरबहादुर चन्दले बताए । ‘पहिले–पहिले अलिअलि आउँथे’, उनले भने, ‘तर अहिले एक जना पनि आउँदैनन् ।’

दङ्गीशरण गाउँपालिका-३ चखौरमा थारू सङ्ग्रहालयमा निर्माण गरेपछि सुकौरा ओझेलमा परेको हो । चखौरामा थारू समुदायका ऐतिहासिक कुरा राखिएको छ । त्यसले गर्दा थारूका हरेक ऐतिहासिक कुरा हेर्न चखौरा जाने गर्दा सुकौरालाई निकै क्षति भएको कांग्रेस नेता तथा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले बताए । त्यो सङ्ग्रहालय चखौरामा नभएर सुकौरामा बनाउन आवश्यक रहेको उनले बताए ।

सुकौरामा बनाउनुपर्ने सङ्ग्राहलय चखौरा बनाउँदा निकै समस्या परेको उनको ठम्याइँ छ । सबैगरी अहिलेसम्म करिब छ-सात करोड बजेट चखौरामा गएको छ । तर सुकौरामा एक करोडभन्दा बढी बजेट अहिलेसम्म परेको छैन । अहिले चखौरामा अन्य संरचना निर्माणका काम भइरहेका छन्, तर सुकौरा शून्य छ ।

 

प्रतिक्रिया दिनुहोस !