चार वर्षअघि धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन सुरु गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका राजनीतिक दलका शीर्ष नेतृत्वलाई अगाडि राखेर फाउण्डेसनका सीताराम कट्टेल (धुर्मुस)ले गर्विलो हुँदै भनेका थिए – ‘हामी रंगशाला बनाउँछौं।’

रंगशाला निर्माणको काम अगाडि पनि बढ्यो। तर, पछिल्लो समय रंगशाला निर्माण चलिरहेको छैन। पछिल्लो समय कट्टेलले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै आफूहरुले सोचेजस्तो सहयोग नआएको र सरकारी निकायबाटै पनि घोषित सहयोग नआउँदा रंगशाला उधारोमा रहेको बताएका थिए।

पछि सरकारले रंगशाला निर्माणको जिम्मेवारी लिने निर्णय गरेको समाचार बाहिरिएको थिए। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्‍बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउने बताएकी थिइन्। सरकारले सार्वजनिक गरेको निर्णयमा भने यसको उल्लेख थिएन।

यो आर्थिक वर्षको बजेटमा यसको कुनै पनि सन्दर्भ उल्लेख गरिएको छैन।

 

प्रतिक्रिया दिनुहोस !