पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा निर्माण भएको लुम्बिनी केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको छ। आइएमई समूहको लगानीमा निर्माण भएको केबलकारको आधार स्टेसन बुटवल-३ गोलपार्क (बमघाट) मा छ भने टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरमा छ। सोमबारदेखि केबलकार सञ्चालनमा आएको हो। यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताएका छन्। बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई पनि चलायमान बनाउने उनले बताए।
केबलकार सञ्चालनसँगै रुपन्देही फेरि गुलजार हुने अध्यक्ष ढकालको भनाइ छ। आन्तरिक पर्यटन प्रवर्द्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास उनले व्यक्त गरे।
केबलकार सञ्चालनले पाल्पाको वसन्तपुरमा नयाँ पर्यटकीय गन्तव्य थपिएको र पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने निजी क्षेत्रको विश्वास छ। २.६ किलोमिटर दूरीको लुम्बिनी केबलकारमा मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डुला (बाकस) छन्। एउटा गोण्डुलामा एकपटकमा ८ जना यात्रु सवार हुन सक्छन्।
केबलकारले दैनिक ६ हजार यात्रुलाई सेवा दिन सक्ने इन्जिनियर गोकुल साउदले बताए। ‘नेपालमा भित्रिएका केबुलकारमध्ये यो सबैभन्दा अत्याधुनिक प्रविधियुक्त छ,’ उनले भने।
बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा रहेको यो लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।
कूल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ भने टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन्। आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको छ।
केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ। वसन्तपुरबाट बुटवलको मनोरम दृश्य देख्न सकिन्छ। गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुने विश्वास लिइएको छ।
पर्यटकले १० मिनेटको अन्तरमा फरक प्रकृतिको हावापानीको अनुभव गर्न पाउनेछन्। वसन्तपुरमा कामाख्या देवीको मन्दिर पनि निर्माण गरिएको छ । कामाख्या मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुंगेधारा, पोखरी आदि संरचनाहरू निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तव्य बनेकाले विभिन्न क्षेत्रका पर्यटक आउने कम्पनीको विश्वास छ।
केबलकारको दुईतर्फी भाडा एक हजार रुपैयाँ कायम गरिएको छ। तीनदेखि चार फिटसम्मका बालबालिकाका लागि ४५० रुपैयाँ, फरक क्षमता भएकाका लागि ३७५ रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी र स्थानीयका लागि ५६५ रुपैयाँको टिकट दर राखिएको छ। ८० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क सेवा दिइने कम्पनीले जनाएको छ।
उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई ७५० भारु र अन्य मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ।
केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता छ। कम्पनीले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि विनियोजन गर्नेछ। लुम्बिनी केबलकार प्रालिले बुटवल ३ को चुरे सामुदायिक वनसमेतको ३.१६ हेक्टर र पाल्पाको तिनाउ-३ को चिउरीडाँडा न्याउली सामुदायिक वनसमेतको ३.११ हेक्टर गरी ६.२७ हेक्टर वन क्षेत्र प्रयोग गरेको छ।
केबलकार परियोजनाले २५ वर्षका लागि त्यहाँको वन क्षेत्र प्रयोग गर्न पाउनेगरी सरकारले स्वीकृति दिएको हो। यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ।
यस्तै, बुटवलदेखि उत्तर-पश्चिममा रहेको नुवाकोट डाँडा जोड्ने अर्को सिद्धार्थ केबलकार पनि निर्माणाधीन अवस्थामा छ।