काठमाडौंमा मंगलबारदेखि रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय साथै अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा दुई दिने रोजगार मेला आयोजना गरेको हो। रोजगारीको खोजीमा रहेकाहरुलाई योग्यताअनुसारका काम दिलाउन र कर्मचारी चाहिएका कम्पनीहरुलाई एउटै मञ्चमा भेट गराउन मेला आयोजना गरेको महासंघले जनाएको छ।

मेलामा ६०० भन्दा बढी ‘जब भ्याकेन्सी’का साथ ५५ भन्दा बढी कम्पनीहरूको सहभागिता छ, जसले काम खोजिरहेका युवालाई रोजगारको अवसर प्रदान गर्नेछ।

यस मेलामा आउने महासंघले अपेक्षा गरेको छ।  मेलामा चौधरी ग्रुप, आइएमई मोटर्स, गोल्छा ग्रुप, लक्ष्मी ग्रुप, पञ्चकन्या ग्रुप, लिपफ्रग, नाङ्लो बेकरी, एचआर ल्याब्स लगायतका कम्पनीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

दुई हजारभन्दा बढी युवाले मेलामा सहभागिताका लागि नाम दर्ता गरिसकेका छन्। मेलाले रोजगारी खोजिरहेका युवा र रोजगार प्रदान गर्ने कम्पनीका बीच सेतुको काम गर्ने र युवालाई महासंघसँग जोड्ने उद्देश्य राखेको बताइएको छ।

मेलामा सहभागी कम्पनीहरूमार्फत रोजगारी खोजिरहेका युवालाई कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना भएको संघले जनाएको छ।

दुईदिने कार्यक्रममा रोजगारी, सीप एवम् जनशक्ति विकास लगायतका विषयमा परामर्श समेत दिइने बताइएको छ।

‘जब फेयर २०२३ कनेक्टिङ डटस् अफ योर फ्युचर’ नारा दिइएको यस मेलालाई क्यालेण्डर इभेन्टको रूपमा हरेक वर्ष आयोजना गर्ने योजना पनि महासंघको छ। मेला मंगलबार र बुधबार दुई दिन संचालन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस !