गुप्तेश्वर गुफा र पातले छाँगो प्रवेशबाट हुने आम्दानी छोरेपाटन माविले राख्दै आएको छ । गुप्तेश्वर गुफाबाटमात्रै स्कुलले वार्षिक ३ करोड रुपैयाँभन्दा बढी र पातले छाँगो प्रवेश शुल्कबाट करिब १ करोड रुपैयाँ आम्दानी गर्र्दै आएको छ ।

महानगरको आर्थिक ऐन २०७८ को दफा ४ अनुसार महानगरपालिकाभित्र कुनै व्यक्ति वा संघसंस्थाले यसरी व्यापारिक तथा व्यावसायिक प्रयोजनले कर उठाएमा उठेको रकमको ८ प्रतिशत बहाल कर महानगरलाई बुझाउनुपर्छ ।

छोरेपाटन माविले गुफा र छाँगो क्षेत्रमा सटर खोलेर भाडामा लगाउँदा पनि बहाल कर त तिर्दैन नै, पातले छाँगो र गुफाबाट हुने आम्दानीको कर पनि नतिरेपछि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखाले आर्थिक वर्ष ०७८/७८ को आम्दानीमात्रै अध्ययन गरेकाले अन्य आर्थिक वर्षको आम्दानीबारे पनि अध्ययन गर्न सुझाव दिएको छ ।

महालेखाको हालै प्रकाशित ६० औं प्रतिवेदनले छोरेपाटन माविले सटर भाडाको बहाल करवापत महानगरलाई ५ लाख ८४ हजार रुपैयाँ, गुप्तेश्वर गुफाको आम्दानीबाट २४ लाख १२ हजार र पातले छाँगो (डेभिजफल्स) प्रवेश शुल्कवापत ७ लाख ९४ हजार रुपैयाँ महानगरलाई बुझाउन बाँकी रहेको देखाएको छ ।

महानगरलाई बहाल कर नतिर्ने छोरेपाटन माविमात्रै एक्लो होइन, महानगर क्षेत्रभित्र सटर लगायतका व्यवसाय गरिरहेका अन्य थुप्रै स्कुलले समेत लाखौं रुपैयाँ बहाल कर तिरेका छैनन् । महालेखा प्रतिवेदनका अनुसार १७ विद्यालयले ५२ लाख ७० हजार रुपैयाँभन्दा बढी बहाल कर नतिरेको पाइएको हो ।

पोखरा वडा नं. १६ मा रहेको इन्द्रराज्य लक्ष्मीले सटर भाडावापत ३ लाख ३९ हजार रुपैयाँ तिरेको छैन । तालबाराही माविले २ लाख ११ हजार रुपैयाँ, विन्ध्यविसिनी माविले १ लाख ३९ हजार रुपैयाँ, अमरसिंह माविले २ लाख ८६ हजार रुपैयाँ तिरेका छैनन् ।

महानगरलाई बहालकर नतिर्ने स्कुलमा भद्रकाली सेकेन्डरी स्कुल, लक्ष्मीआदर्श मावि, जनज्योति मावि, सरस्वती टीका मावि, शान्तिउदय मावि, ज्ञानभूमि मावि, जनप्रकाश मावि, शुक्रराज बलभद्र मावि, नवप्रभात मावि, पार्दी मावि आदि छन् ।

‘…आर्थिक वर्ष ०७७/७८ को प्रतिवेदनको आधार लिँदा विभिन्न विद्यालयले भाडावापत वार्षिक आम्दानी गरेकोमा विद्यालयहरुले आर्थिक ऐनले तोकेबमोजिम ८ प्रतिशतका दरले बहाल कर असुल गरेको देखिँदैन’, महालेखाले भनेको छ, ‘अन्य आर्थिक वर्षको समेत महानगरले छानबिन गरी बहाल कर असुल गर्नुपर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस !