
२ अर्ब ८० करोड रुपैयाँ खर्चेर निर्माण गरेको १४ मेगावाटको घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ। बुधबार (जेठ २४ गते) पेनस्टक र सुरुङमार्गमा पानी पठाएर परीक्षण सुरु गरिएको हो। चालु आर्थिक वर्षभित्रै परीक्षण सकेर व्यवसायिक उत्पादन थाल्ने लक्ष्य लिइएको छ। ‘यही आर्थिक वर्षभित्र उत्पादन थाल्न परीक्षण सुरु भयो। समस्या आएन भने पुरा हुन्छ। विद्युत प्राधिकरणले पनि परीक्षण गर्नुपर्छ,’ म्याग्दी हाइड्रोपावर लिमिटेडका लेखापाल हरिकृष्ण नेपालले भने, ‘कम्पनीले आइपीओ निकाल्ने योजना पनि छ।’ आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गरिएको हो। २०७४ सालबाट निर्माण थालिएको यो आयोजनाको सिभिलतर्फको काम साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको हो। आयोजनामा करिब ३५०० मिटर सुरुङमार्ग निर्माण गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ। त्यसका लागि करिब ८ किमि लम्बाइको ३३ केभी प्रसारणलाइन निर्माण गरिएको छ।