
अधिकारीहरुका मेलम्चीको दोस्रो आयोजना तत्कालै कार्यान्वयनमा जाने अवस्था छैन । मेलम्चीमा बाढीले बितण्डा नमच्चाएको भए आर्थिक वर्ष २०७८/७९मा नै मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोककै यांग्र्री र लार्के खोलाको पानी पनि मेलम्चीमा मिसाउने गरी ‘मेलम्ची खानेपानी आयोजना-२’ निर्माणको लागि ठेक्का प्रक्रिया थाल्न सक्थ्यो ।
यही सम्भावनालाई हेरेर २० चैत, २०७७ मा काठमाडौंमा मेलम्चीको पानी वितरणको सुरुवात गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र यांग्री र लार्के खोलाको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका थिए । तर, मेलम्चीका आएको बाढीले मेलम्चीको मुहान क्षतिग्रस्त पारेपछि सरकार अलमलमै बस्दा अर्को योजनामा समेत ब्रेक लागेको छ ।
सरकार मात्रै हैन, यसमा लगानी गर्न इच्छुक एशियाली विकास बैंक (एडीबी) पनि मेलम्ची खानेपानी आयोजनालाई क्षति पुग्ने गरी बाढी आएपछि सो क्षेत्रको भौगर्भिक अवस्थाबारे विस्तृत अध्ययन नगरी आयोजनामा लगानी गर्न तयार देखिएको छैन । मेलम्ची खानेपानी विकास समितिका निर्देशक एवम् प्रवक्ता राजेन्द्र पन्तका अनुसार एडीबीले सो क्षेत्रको अध्ययन र मेलम्ची आयोजनाको पुनर्स्थापनाबारे अध्ययन गरिरहेको छ ।
एडीबीले मेलम्ची खानेपानी आयोजनाको मुहान नै सार्नुपर्ने निष्कर्ष निकालेर नयाँ मुहानस्थलको खोजी गर्दैछ । सरकार भने मेलम्चीको बाढीग्रस्त मुहान टालटुल पारेर जोखिमयुक्त अवस्थामै सुरुङमा पानी हालेर बसेको छ ।
प्रवक्ता पन्त एडीबीको अध्ययनले औंल्याउने सुझाव र निष्कर्षको आधारमा मेलम्ची-२ आयोजनाबारे थप निर्णय लिने बताउँछन् । बाढी आउनुअघि एडीबी दोस्रो परियोजनामा पनि ऋण लगानी गर्न इच्छुक थियो ।
पन्तका अनुसार मेलम्ची खानपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयमा स्वीकृतिका लागि पेश भइसकेको छ । तर, मेलम्ची पहिलोको मुहानका लागि सुरुङ खन्नुपर्ने र नयाँ मुहान खोज्नुपर्ने भएकाले डीपीआर अनुसार तत्कालै आयोजना अघि बढाउन भने समस्या छ ।
मेलम्चीको नयाँ मुहान निर्क्योल भएपछि यांग्री र लार्केबाट पानी ल्याइने सुरुङमार्फत मेलम्चीको नयाँ मुहानभन्दा माथि ल्याएर खसाल्ने गरी डीपीआर पुनरावलोकन गर्नुपर्ने अवस्था छ । दुई वटा खोलाको पानी मेलम्चीको सुरुङमा जोड्न खन्नुपर्ने थप सुरुङको लम्बाइ त्यसपछि मात्रै टुंगो लाग्ने छ ।
त्यसैकारण अहिले नै स्रोत सुनिश्चित गरेर ठेक्का लगाउनुपर्ने अवस्था छ । अझ मेलम्चीको बाढीका कारण सो क्षेत्रका खोलामा मुहानस्थलहरु बनाउँदा ठूला बाढीबाट पनि सुरक्षित रहने सुनिश्चित गर्नुपर्ने अवस्थाले यसअघिको डीपीआर पुनरावलोकन गर्नुपर्ने हुनसक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।
यसअघिको डीपीआरअनुसार यांग्र्री र लार्केको पानी सुरुङ बनाएर हालको मुहान अम्बाथानभन्दा माथि मेलम्चीमा ल्याएर मिसाउने र तयार रहेका मेलम्चीको विद्यमान संरचनाबाट पानी काठमाडौं ल्याउने योजना थियो । तर, मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा नै बाढीले क्षति पुर्याएको छ ।
आयोजना अधिकारीहरुका अनुसार अब यांग्र्री र लार्केको पानी ल्याउन बनाउने सुरुङ मेलम्चीको हाल तयार रहेको सुरुङमा सिधै जोड्नुपर्ने हुनक्छ । त्यो गर्नु परेमा यांग्री र लार्केमा आ-आफ्नै ‘पानी छान्ने संयन्त्र’ बनाउनुपर्ने हुनसक्छ ।