
काठमाडौं महानगरपालिकाले व्यावसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गर्नेलाई प्रोत्साहन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको छ ।
महानगरपालिकाले भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति करमा छुट दिने व्यवस्था गरेको हो । पार्किङ क्षेत्र भनी नक्सा स्वीकृत गरी अन्य प्रयोजनमा प्रयोग गरेमा भने महानगरपालिकाले कारवाही गर्ने भएको छ ।
महानगर क्षेत्र भित्र फरक-फरक वडामा एउटै व्यक्ति वा संस्थाको भवन वा घर भएमा हरेक वर्ष सम्पत्ति भएको वडाको सिफारिस प्राप्त भएपछि मात्र सम्पत्ति कर बुझ्ने वडा कार्यालयले कर दाखिला गर्नुपर्ने नियम समेत महानगरपालिकाले लिएको छ ।
करदाताको सम्पत्ति थप भएमा वा भवन निर्माण सम्पन्न प्रमाणपत्र लिँदा थप हुन गएको क्षेत्रफलको मात्र अब जरिवाना सहित कर असुल हुने आर्थिक ऐनमा उल्लेख छ ।
बहुतले आवासीय भवन (अपार्टमेन्ट)को सम्पत्तिका हकमा अब तलाले ओगटेको भवनको हिस्सा बराबर जग्गाको क्षेत्रफल कायम गरी मूल्याङ्कन हुने भएको छ ।