ईपीएस कोरिया शाखाले कोरियामा काम गरेर फर्किएकालाई भाषा परीक्षाको आवेदन खुलाएको छ।

शाखाले आज एक सूचना जारी गर्दै कोरियामा ५ वर्ष रोजगार गरेर फर्किएकाले साउन १३ गतेदेखि साउन १५ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ गतेदेखि भदौ २९ गतेसम्म हुनेछ। नतिजा प्रकाशन भने असोज ३ गते हुने शाखाले जनाएको छ।

नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारलाई पुनः कामदारका रुपमा पठाउने प्रक्रियाअनुरुप आवेदन खुला गरिएको सूचनामा उल्लेख छ।

इच्छुक नेपाली नागरिक हुनुपर्ने, ईपीएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात भिसा अवधिभित्रै स्वेच्छिक रुपले नेपाल फर्केका कामदारले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ।

यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानुनी रुपमा बसोबास नगरेको, नेपालबाट अन्य मुलुकमा जान रोक नलगाइएको व्यक्ति हुनुपर्नेछ।

कोरियामा ई–९ र ३–९–१ भिसामा ५ वर्षभन्दा बढी अवधि नबसेका र कोरियाको मानव संशाधान विभाग बाट ईपीएस भाषा परीक्षामा सहभागी हुन सक्ने भनेर नामावलीमा नाम भएकाले फारम पर्न पाउने सूचनामा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस !