कोशी प्रदेश सरकारले प्रदेशसभाको बैठक भदौ १ गतेका लागि बोलाएको छ । गत असार १५ गतेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि स्थगीत भएको प्रदेशसभाको बैठक भदौं १ गते दिउँसो १ बजेका लागि बोलाएको हो ।
प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले साउन १५ गते अर्काे सूचना जारी नभएसम्मका लागि स्थगीत भएको प्रदेश सभा बैठक भदौं १ गतेका लागि बोलाइएको जानकारी दिए ।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारबाट माओवादी केन्द्र र जसपा बाहिरिएपछि बजेट अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका थिए ।
विश्वासको मत लिने प्रयोजनका लागि उनले साउन १४ गतेबाट तेस्रो अधिवेशन आह्वान गरेका थिए । पहिलो बैठकमा बजेट अध्यादेश पेस भएको थियो । दोस्रो बैठकमा उनले विश्वासको मत परीक्षण हुँदा विश्वासको मत पाएनन् ।
त्यसपछि बनेका मुख्यमन्त्री उद्धव थापाले अध्यादेशको बजेट प्रतिस्थापनका लागि भदौं १ गतेबाट अधिवेशन बोलाएका हुन् । उनले सर्वदलीय सहमतिका आधारमा बजेट अध्यादेश प्रतिस्थापनका लागि विधेयक ल्याउने बताए । भदौं १० गतेभित्र बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ ।
भदौं १० गतेभित्र बजेट पास गरेर विश्वासको मत लिने उनको तयारी छ ।