बिहीबार प्राधिकरणले पहाडी क्षेत्रमा अवस्थित छोटो उडान र अवतरण हुने (एसटीओएल) विमानस्थलहरुमा उडानका लागि शर्तसहित खुला गरेको हो। गत असार २६ गते सोलुखुम्बुको लाम्जुरापासमा मनाङ एयरको हेलिकप्टर भएपछि प्राधिकरणले पहाडी क्षेत्रमा १२ बजेपछि उडानमा रोक लगाएको थियो ।

दुर्गम हिमाली जिल्ला हुम्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकले ज्यान गुमाएका थिए।हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान पहाडी र हिमाली जिल्लामा समस्या बढेको भन्दै प्राधिकरणको निर्णयको बिरोध भएको थियो । निर्णय सच्याउन माग भइरहदा प्राधिकरणले शर्तसहित खुला गर्ने निर्णय गरेको हो।

प्राधिकरणले एसटीओएल विमानस्थलबाट उडान गर्दा प्रत्येक उडानमा क्यानको ‘कार (२)’ मा भएका ‘भिएमसि भिजिबिलिटी एण्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा’को सुनिश्चिततापश्चात पीआईसी सम्पूर्ण रुपमा सन्तुष्ट हुनुपर्ने जनाएको छ ।

एसटीओएल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिएमसि मिनिमा कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा पछि मात्रै उडान अनुमति प्रदान गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नेपालगञ्ज विमानस्थलबाट पहाडी क्षेत्रका एसटिओएल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगञ्ज विमानस्थलमा अनिवार्य रुपमा उडान सञ्चालन अधिकारी (एफओओ)को व्यवस्था गर्नुपर्ने र उडान सञ्चालनको सम्पूर्ण कार्य सोही अधिकारीमार्फत गर्नुपर्ने पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !