युवाहरु रोजगारी र अध्ययनको सिलसिलामा विदेशिने क्रम बढ्दाको असर इन्टरनेट बजारमा परेको छ। इन्टरनेटको अधिक प्रयोग गर्ने युवाहरु विदेशिएपछि सेवा प्रदायकको ग्राहक संख्या करिब ४३ हजारले घटेको छ। इन्टरनेट सेवा प्रदायकबीचको कटथ्रोट प्रतिस्पर्धा र सहरी क्षेत्रमा इन्टरनेट स्यचुरेसनमा पुग्दा पनि ग्राहक संख्या घटेको हो।

नियामक नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार वर्ल्डलिंक, नेपाल टेलिकम, सुबीसु, डिस मिडिया (डिसहोम) र ब्रोडलिंकको ग्राहक संख्या घटेको छ। क्लासिक टेक र भायनेटको ग्राहक संख्या स्थिर रहँदा वेबसर्फर र चौधरी समूहको सिजी कम्युनिकेसन्स् (सिजी नेट) को ग्राहक संख्या थोरै बढेको छ।

फिक्स्ड इन्टरनेट सेवामा वर्ल्डलिंकको दबदबा कायमै छ। प्राधिकरणले परिमार्जनसहित सार्वजनिक गरेको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार वैशाखमा वर्ल्डलिंकको कुल इन्टरनेट ग्राहक संख्या ७ लाख ५२ हजार ५७३ छ। वर्ल्डलिंकसँग चैतमा ७ लाख ७१ हजार ४६२ ग्राहक थिए। एक महिनामै उसले १९ हजार ग्राहक गुमाएको हो।

प्राधिकरणले भदौ लाग्दा बल्ल वैशाखको तथ्यांक सार्वजनिक गरेको हो। वर्ल्डलिंकसँग ७ लाख ५२ हजार ३६३ फाइबर, १०७ वायरलेस र १०३ केबल इन्टरनेट ग्राहक छन्।

नेपाल टेलिकमले पनि १० हजारभन्दा बढी ग्राहक गुमाएको छ। उसँग कुल इन्टरनेट ग्राहक संख्या चैतमा २ लाख ८७ हजार १९० थिए। त्यो संख्या वैशाखमा २ लाख ७६ हजार ९२८ मा झरेको छ। टेलिकमसँग वायरलेस ग्राहक छैनन्। फाइबरतर्फ २ लाख २२ हजार ८३४ र केबलतर्फ ५२ हजार ९४ ग्राहक छन्।

 

प्रतिक्रिया दिनुहोस !