आयातकर्ता कम्पनीहरुले गत असार १४ गतेदेखि बन्दरगाहमा जाँचपासका लागि सवारीसाधन ल्याउन सुरु गरेका हुन्। जसले गर्दा चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारीसाधन आउने क्रम बढ्दै छ।
बन्दरगाहका अनुसार हालसम्म ४९ वटा नयाँ सवारीसाधान भन्सार जाँचपासका लागि आएका छन्। नयाँ सवारी आउने क्रम निरन्तर जारी रहेको बन्दरगाहले जनाएको छ।
हालसम्म सांग्रिला मोटर्सको पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरु र जिओ अटोमोवाइल्सको फोर्डका ५ वटा डबल क्याब पिकअप गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपासका लागि आएका छन्। उक्त गाडीहरु वीरगंज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याइएको हो।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारीसाधन आउन सहजीकरण गरिएको बताए। साथै नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालसँग पनि धेरैपटक छलफल गरिएको उनको भनाइ छ।
आगामी दिनमा अझै सवारी चोभार आउने जानकारी व्यवसायी तथा नाडाले गराएका उनले बताए। यसका साथै अन्य व्यवसायीहरुसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको उनको भनाइ छ।
चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सावरी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रवेश शुल्क निस्शुल्क गर्नुका साथै पार्किङ र गोदाम शुल्क समेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको उनले बताए।
जसको कारण हाल सम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर र ४९ युनिट नयाँ गाडीहरु भन्सार जाँचपासको लागि आइसकेको गजुरेलले बताए। साथै आन्तरिक टर्मिनलमा पनि पार्किङ र गोदाम प्रयोगको लागि आउने व्यवसायीहरुको संख्या बढ्दो क्रममा रहेको छ।