चीनले जापानबाट सीफुड आयात रोक्ने निर्णय गरेको छ। जापानले फुकुसिमा न्यूक्लियर प्लान्टबाट प्रशोधित ‘रेडियोएक्टिभ वेस्टवाटर’ फाल्न सुरु गरेपछि चीनले यो घोषणा गरेको हो।
जापानले न्यूक्लियर प्लान्टबाट प्रशोधित पानी फाल्ने निर्णयको फुकुसिमाको छिमेकी राज्य र अन्य देशहरुले विरोध गरिरहेका छन्। यसबिच चीनले भने ती आलोचनाहरुको नेतृत्व गर्दै सीफुड आयात नगर्ने जनाएको हो।
बिहीबारबाट जापानले प्ल्यान्टबाट पानी फाल्ने निर्णय गरेपछि चीनले जापानबाट आयात हुने सी फुड सँगै समुद्रबाट उबाउ हुने सबै सामाग्री रोक्ने जनाएको हो। अब सी साल्ट, सी विडहरु समेत जापानबाट चीनले आयात गर्ने छैन।
न्यूक्लियर प्लान्टको पानी समुद्रमा फालेपछि त्यसले समुद्री जीवहरुलाई असर गर्न सक्ने भन्दै आलोचना भइरहेको छ। जापानले भने प्लान्टबाट फालिने पानी सुरक्षित रहेको दाबी गरिरहेको छ।
जापानले प्लान्टबाट १७ दिनको समयमा ७ हजार ८०० क्युबिक मिटर ‘ट्रिटेड वेस्टवाटर’ फाल्ने तयारी गरेको छ।
अमेरिका र ताइवानले भने जापानको यो कदमको समर्थन गरेको छ। तर पानीले कुनै असर गर्न नहुने सर्त अघि सारेको छ।










