
नेपाली खेलाडी रजनी श्रेष्ठले मंगलबार ५५ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । रजनीले काठमाडौंमा आयोजना भइरहेको उक्त प्रतियोगिताको महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियाँलाई हराएर स्वर्ण जितेकी हुन् । भारतकी सविता रजत र भियतनामकी दिन्ह किम लोन कांस्यमा सीमित भए । प्रतियोगितामा नेपालले ३ स्वर्ण जितेको छ । अघिल्लो दिन विशाल पौडेल र सनम मुलगुठीले स्वर्ण जितेका छन् । महिला १५५ सेमिसम्मको मोडल फिजिकमा तारा खाईजुले रजत जितिन् । थाइल्याण्डकी किरातिया छन्त्रतले स्वर्ण र भारतकी निमा डोमा लामाले कांस्य जितेका थिए । पुरुष १७० सेमी फिजिक विधामा राजु राईले रजत पदक जिते । उनले माल्दिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कांस्य जितेका थिए । थाइल्यान्डका वान्चाई कान्जानापिमिनेले स्वर्ण र भियतनामका तरान होङ्ग दुइ थुआनले कांस्य प्राप्त गरे ।
यस्तै १७ सेमिमाथि रन्जित लामाले कास्य प्राप्त गरे । ७५ केजी तौल समूहमा ललित धिमालले नेपालका लागि रजत प्राप्त गरे । भारतका राहुल चिन्डाले स्वर्ण र जगन्नाथ खुन्तियाले कांस्य जिते । ८० केजी तौलमा नेपालका कृष्णप्रसाद श्रेष्ठले कास्य पदक जिते । थाइल्यान्डका पतैवात अल्कावतले स्वर्ण र भारतका प्रकास प्रधानले रजत प्राप्त गरे ।