वैदेशिक रोजगार बोर्डको सचिवालयले सम्बन्धित विटमा काम गर्ने पत्रकारहरूसँग दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेको धुलिखेलमा मंगलबार र बुधबार सचिवालयले वैदेशिक रोजगारको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूसँग उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

उपसचिव कृष्णप्रसाद खनालको अध्यक्षता सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले वैदेशिक रोजगार बोर्डको सचिवालयले सम्पादन गर्दै आएका कल्याणकारी कार्यहरूको प्रस्तुतीकरण राखेका थिए ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा.उप्रेतीले साधन स्रोत अभावका बीचमा पनि बोर्डले धेरै राम्रा काम गरिरहेको दाबी गरे । उनले भने, ‘म दाबीकासाथ भन्न सक्छु, सरकारी संयन्त्र मध्ये सबैभन्दा कम जनशक्ति र स्रोत साधनको सदूपयोग गरेर यति धेरै काम गर्ने अर्को कुनै संस्थान नै छैन । स्थायी कार्यालय छैन । प्रयाप्त जनशक्ति छैन । तर, पनि हामीले राम्रा प्रयास गरेका छौं । अर्को कुरा कसैको प्रभाव र दबाबमा नपरी कामगर्ने संस्था पनि हाम्रै बोर्ड सचिवालय हो ।’

उप्रेतीले आवश्यक परामर्श लिएर मात्रै वैदेशिक रोजगारमा जान अनुरोध गरेका छन् । उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकहरूले आवश्यक परामर्श, तालिम, सीप, भाषाको ज्ञानलगायतका आधारभूत कुराहरूबारे थाहा पाउन सकेको खण्ड धैरै समस्या हल हुनेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरूका समस्या समाधान गर्नका लागि हरेक देशमा रहेका दुतावासमा २० जना कर्मचारीको आवश्यक पर्छ । त्यो पनि अत्यन्तै दक्षजनशक्तिको खाँचो छ । हामीले सरकारलाई यसका बारेमा जानकारी गराएका छौं ।’

त्यस्तै कार्यक्रममा ‘वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो, मर्यादित र व्यवस्थित बनाउन सञ्चारकर्मीको भूमिका’ को विषयमा प्रस्तुतीकरण राखेका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले वैदेशिक रोजगारलाई मिडियाहरूले प्रमुख मुद्धा बनाउनु पर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘जतिसुकै कोणबाट कुरा गरेपनि हुन्छ । आजको पत्रकारीताको मुल विषय बन्नु पर्ने पाटो नै वैदेशिक रोजगार हो । हाम्रो नेपाली मिडियाले समाचारको चित्र बदल्नुपर्छ । नेपालको आर्थिक, राजनीतिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा वैदेशिक रोजगार जोडिएर आउछ । त्यसैले यस विषयलाई मुख्य विषय बनाएर काम गर्ने पत्रकारहरूले समस्या मात्रै नभएर सफलताका कथा बाहिर ल्याउनुपर्छ । खोज अनुसन्धानमुलक पत्रकारीता अब यता केन्द्रीत हुनुपर्छ।’

पत्रकारहरूले सबैभन्दा धेरै भाषाका सम्दर्भमा कामगर्ने बताउँदै निष्ठुरीले पछिल्लो समयको पत्रकारिताले भाषामाथि अन्याय गरिरहेको बताए । उनले भने, ‘एक दिनमा सबैभन्दा बढी नेपाली भाषाको प्रयोग गर्ने काम पत्रकारले गर्छन् । तर, भाषा अत्यन्तै कमजोर छ । शीर्षक चयन, भाषाशैली, प्रस्तुतीकरण सबै भद्रगोल छ ।’

वैदेशिक रोजगारीका सन्दर्भमा निष्ठुरीले स्थलगत रिपोर्ट गर्न आग्रह गरेका छन् । उनले अगाडि भने, ‘वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन, भरपर्दो बनाउन, मर्यादित र व्यवस्थित बनाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले पत्रकार साथीहरूले वैदेशिक रोजगारीलाई मुख्य विटका रूपमा स्थापित गरेर यस क्षेत्रमा योगदान दिनुपर्छ ।’

त्यस्तै कार्यक्रममा बोर्डकी उपसचिव सीता दुवाडीले आ.व. २०७९/०८० मा वोर्ड सचिवालयद्वारा सम्पादित कार्यहरूको प्रगती तथा चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि बोर्ड सचिवालयका स्वीकृत कार्यक्रमहरूबारे जानकारी गराएकी थिईन ।

अन्तरक्रियाको सबैभन्दा महत्वपूर्ण र केन्द्रभागमा रहेको उक्त विषयमा पत्रकारहरू सवाल जवाफ गरेका थिए । उपसचिव दुवाडीले बोर्ड सचिवालयका काम, कर्तव्य, अधिकारबारे जनताको बीचमा लैजानको लागि पत्रकारहरूको महत्वपूर्ण साथ रहने विश्वास व्यक्त गरेकी छन् ।

कार्यक्रममा वरिष्ट पत्रकार विष्णु सुवेदीले बोर्डका काम कारबाहीबारे पत्रकाहरूले साथ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘बोर्डका कामलाई थप सफल बनाउने पत्रकार साथीहरूको साथ छ र आगामी दिनमा रहन्छ । तर, यस बोर्डले प्रदान गर्ने विज्ञापनबारे हाम्रा केही भनाई छन् । सक्नुहुन्छ भने केही आधार बनाएर विज्ञापनलाई पत्रकार पक्षिय बनाउनुहोस् ।’
कार्यक्रममा बोर्ड सचिवायलका उपसचिव राजन पौडेल, नरबहादुर चन्द, अञ्जली श्रेष्ठ, महेशकृष्ण महर्जनसहित करिब ३० जना पत्रकारहरू सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !