गोरखाको सिरानचोक गाउँपालिका–३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए ।
‘वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘बिक्री वितरणका लागि छुट भएको समयमा पनि बालबालिका र विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई भने बिक्री गर्न नपाइने नियम लागू गरिएको छ ।’