बर्दियाकी इन्द्रा सुनार काठमाडौंकाे चिसाे रातहरुमा राम्ररी निदाउन नपाएको धेरै भइसकेको थियो । सोमबार रातिको मुटु कमाउने जाडो जेनतेन काटेपछि उनी रत्नपार्क शान्तिवाटिकामा मंगलबार बिहान खाना पकाउन लाग्दै थिइन् ।

मिटरब्याजी साहुले घरखेत खाइदिएपछि तीन वर्षकी छोरी बोकेर गत मंसिरमा काठमाडौं आएकी सुनारले सोच्दै नसोचेको घटना हुन पुग्यो । छोरी र आफ्नो लागि भोक मेटाउन खाना बनाउँदै गरेको बेला मंगलबार बिहान साढे ८ बजे शान्तिवाटिका भित्र एक हुल नगर प्रहरी छिरे ।

काठमाडौं महानगरबाट आएको बताउँदै उनीहरुले न्याय माग्न धर्ना बसेकाहरुलाई ठाउँ खाली गर्न उर्दी दिए । त्यसपछि भाँडाकुडा, ओछ्यान, लत्ताकपडा फाल्दै सुनारलगायत पीडितहरुलाई शान्तिवाटिकाबाट बाहिर सडकमा गलहत्याए ।

‘खाना पाक्दा पाक्दै एक्कासी प्रहरी आएर लखेट्न थाले’ सुनारले भनिन्, ‘ठाउँ खाली गर्न भन्दै हामीलाई लछारपछार गर्दै बाहिर फाले । जबरजस्ती गरे, हातपात गरे, लठ्ठी पनि हाने ।’

खान पनि नदिई सामान सहित आफूलाई सडकमा हुत्याइदिएपछि कहाँ जाने के गर्ने भन्ने होश उनले पाइनन् । पिठ्यूँमा बोकेकी छोरीतिर हेर्दै रोईमात्र रहिन् । सुनारका श्रीमानले मिटरब्याजी साहुसँग लिएको आठ लाख ऋण बढेर ३२ लाख पुगेको थियो । ऋण तिर्न नसकेपछि मिटरब्याजीले उनको घर आफ्नो नाममा गरेका थिए । साहुले बस्ने घर नै हडपेपछि उनी न्याय माग्न काठमाडौं आएकी थिइन् ।

‘मिटरब्याजीले घर खाइदिए बस्ने ठाउँ भएन’ उनले भनिन्, ‘जाने ठाउँ कतै नभएपछि न्याय माग्दै रुँदै काठमाडौं आएकी थिएँ । तर यहाँ पनि बस्न दिइएन ।’ बरु उनलाई अहिले अर्काे आपत आइपरेको छ, ‘काखे छोरी लिएर कहाँ जाने ?’

शान्तिवाटिकाबाट लखेटिएपछि दिनभर उनी सडक छेउको फुटपाथमै बसिन् । दिनभर उनी छोरीसँग भोकै रहिन् ।

बर्दियाकी देबु परियार पनि मिटरब्याजी साहुको ऋणको फन्दामा परेर गत मंसिरमा काठमाडौं आएकी थिइन् । ऋणका नाममा साहुले खोसेको घर फिर्ता पाउनुपर्ने माग राख्दै उनी दुई महिना यता शान्तिवाटिकामा धर्ना दिँदै बसेकी थिइन् ।

बस्ने घर नभएपछि न्याय माग्ने उनको अन्तिम विकल्प काठमाडौं थियो । काठमाडौंमा चिसो रात कटाउनलाई कम्तीमा बस्ने ठाउँ थियो, शान्तिवाटिका । ‘सबै गुमाएपछि न्यायमा माग्न यहाँ आएका थियौं’ उनले भनिन्, त्यहाँबाट पनि हटाइयो, अब कहाँ गएर बोल्ने, कहाँ गएर न्याय माग्ने ?’

काठमाडौं महानगरको प्रहरीले शान्तिवाटिकाको गेटमा ताला झुण्ड्याएपछि दिनभर उनी पनि सडकमै बसिन् ।

काठमाडौं महानगरपालिका कार्यालय भने पीडितहरुलाई हटाउनुपर्नाको कारण देखाउँदै ११ महिनादेखि बस्दा रानीपोखरी समेत प्रदूषित हुन पुगेको तर्क गर्छ । विभिन्न थरी मागकर्ताका कारण शान्तिवाटिका कब्जा जस्तै हुन पुगेको नगरपालिका बताउँछ ।

‘विभिन्न माग राख्ने समूहहरु ११ महिनादेखि शान्तिवाटिका कब्जा गरेर बसेका रहेछन् नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने, त्यसले रानीपोखरी समेत फोहोर हुन थालेपछि हटाउनु परेको हो ।’ उनले महानगरको आदेश अनुसार नै उनीहरुलाई हटाउनुपरेको जिकिर गरे ।

रा.स.स

प्रतिक्रिया दिनुहोस !