राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशगत मतभार तयार गरिएको छ । निर्वाचन आयोगले प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षको संख्याका आधारमा प्रदेशगत मतभार निर्धारण गरेको हो । निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुखको मतभार १९ कायम गरिएको छ । सोही आधारमा आयोगले सातै प्रदेशको मतभार तय गरेको हो । आयोगका अनुसार कोशी प्रदेशमा १० हजार १३५, मधेश प्रदेशमा १० हजार ८३९, बागमती प्रदेशमा १० हजार ३५२, गण्डकी प्रदेशमा ६ हजार ४१०, लुम्बिनी प्रदेशमा ८ हजार ७५३, कर्णाली प्रदेशमा ५ हजार १२२ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १५३ मतभार रहेको छ ।

राष्ट्रिय सभामा रिक्त १९ पदमध्ये १८ पदका लागि निर्वाचन हुनेछ । मनोनीत सांसद वामदेव गौतमको स्थानमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ । बाँकी १८ पदका लागि कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन् । २०७६ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल समाप्त हुन लागेपछि नयाँ निर्वाचन हुन लागेको हो ।

यसैबीच, निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र पनि तोकेको छ । सातै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहने गरी व्यवस्था मिलाइएको छ । प्रत्येक मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहनेछन् । मतदान केन्द्र ‘क’ प्रदेशसभा सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुखका लागि तोकिएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ), मधेश प्रदेशमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम–४ (धनुषा), बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा–४ (मकवानपुर), गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की) मतदानस्थल तोकिएको छ । यस्तै लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र, घोराही (दाङ), कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली) लाई मतदानस्थल निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !