सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ)सम्ममा ६ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ, जुन यो अवधिका लागि निर्धारण गरिएको ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँको लक्ष्यभन्दा करिब डेढ खर्ब कम हो। कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले फागुनसम्म ४५.२२ प्रतिशत मात्र संकलन गर्न सकेको अर्थ मन्त्रालयको तथ्यांकले देखाएको छ।
माघसम्म सरकारको आम्दानीभन्दा खर्च बढी भएकाले बजेट घाटा १ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। राजस्वतर्फ भन्सार महसुलबाट १ खर्ब ३५ अर्ब, मूल्य अभिवृद्धि करबाट १ खर्ब ९६ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ५ अर्ब, शिक्षा सेवा शुल्कसहित ३ अर्ब ४४ करोड, आयकरबाट १ खर्ब ५८ अर्ब, गैरकर राजस्व ६५ अर्ब र विविधबाट ४ अर्ब ३० करोड रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ६ खर्ब ५० अर्ब रुपैयाँ राजस्व उठेको थियो।
सरकारले चालु आवका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा हालसम्म ८ खर्ब १ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। यसमध्ये चालु खर्च ५ खर्ब ६२ अर्ब र पुँजीगत खर्च ६३ अर्ब रुपैयाँ रहेको छ। विकास निर्माणतर्फको पुँजीगत खर्च माघसम्म जम्मा १५ प्रतिशत मात्र भएको छ, जबकि यस वर्षका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको छ।










